काठमाडौं– नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रिपरिषद्भित्रै प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। मन्त्रिपरिषद्मा पनि प्रतिपक्षको भूमिका आवश्यक पर्ने र त्यसको निर्वाह आफूहरुले गर्ने लामिछानेको भनाइ छ।
सोमबार राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि गृहमन्त्रालयमा पद्भार सम्हाल्दै लामिछानेले भने, ‘काम गर्न सक्ने आधार भएकै कारण आज यहाँ आएको हो। त्यो निश्चित भएको छ। खबरदारी गरेकै हो। क्याबिनेटभित्र पनि एउटा प्रतिपक्षको आवश्यक पर्छ । सरकारभित्र पनि प्रतिपक्षको भूमिका हामी निर्वाह गर्छौं।’
गलत काम हुँदा ‘होमा हो’ मिलाउने काम आफूहरुबाट नहुने लामिछानेको भनाइ छ। ‘हामीले बाचा पत्रमा लेखेर बाचा गरेका छौँ। त्यो प्रतिबद्धतापत्र केही दिनमा सार्वजनिक गर्छौं। हाम्रा अजेन्डाहरु आएका छन्। सम्पूर्ण दलहरु भएर सार्वजनिक गर्छौं,’ लामिछानेले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई स्वतन्त्र भएर काम गर्नुहोस् भनेर भनेको लामिछानेले उल्लेख गरे। ‘म पनि ऐतिहासिक रुपमा काम गर्छु, तपाईं पनि स्तवन्त्र भएर काम गर्नुस् भनेर प्रधानमन्त्रीले भन्नुभएको छ। काम गर्न कुनै अवरोध हुँदैन,’ लामिछानेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।