काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयतताको सपथ लिएका छन्। सोमबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित एक समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।
प्रचण्ड आइतबार बेलुका मात्रै प्रधानमन्त्री नियुक्त भएका थिए। एमाले र माओवादी केन्द्रसहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका थिए। लगत्तै उनलाई राष्ट्रपतिले नियुक्त गरेकी थिइन्।
प्रचण्डको यो तेस्रो कार्यकाल हो। उनी यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री भएका थिए।
सपथका लागि प्रचण्ड दौरासुरुवाल लगाएर राष्ट्रपति कार्यालय पुगेका थिए। यसअघिका सपथमा उनी कोट पाइन्टमा सजिएर प्रस्तुत हुने गरेका थिए। तर, सम्भवतः उनी पहिलो पटक दौरा सुरुवाल लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।
प्रधानमन्त्री प्रचण्डको सपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए। त्यस्तै, केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराई लगायतका पूर्वप्रधानमन्त्रीहरु पनि सहभागी थिए। त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।