काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने बताएका छन्। सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको बिदाइ कार्यक्रममा बोल्दै उनले अहिलेको युग सूचना र प्रविधिको युग भएको बताए।
मन्त्री कार्कीले भने, ‘१५ महिना मैले सञ्चार मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएँ। यस अवधिमा तपाईंहरुको काम, राजनीतिप्रति दर्शाउनुभएको व्यवहार र भूमिकाप्रति खुसी छु। यो बीचमा के-के काम गर्यौं, सार्वजनिक रुपले पुस्तिका प्रकाशित गरेका छौं।’
उनले भने, ‘अहिले हाम्रा धेरै युवा-युवती विदेश जानु परेको छ। उहाँहरुले पठाएको रेमिट्यान्सबाट हाम्रो मुलुकको अर्थतन्त्र चल्नमा धेरै ठूलो मद्दत गरेको छ। अब हामीले युवा-युवतीलाई आफ्नै घरपरिवार तथा समाजमा बसेर ल्यापटपमार्फत विदेशी मुद्रा आर्जन गराउने आइटी हब नेपाललाई कसरी बनाउन सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान जान जरुरी छ।’
सञ्चार मन्त्रालयमा ९५ प्रतिशत डिजिटल बनेको दावी मन्त्रालयले गरेको छ। कार्कीले मन्त्रालयका कर्मचारीलाई गम्भीर बन्न आग्रह समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।