पोखरा– जब पहिलो पटक गुञ्जन मिस (लुइँटेल) शिक्षण यात्रामा डोल्पा पुगिन्। उनलाई एउटा सानो विद्यार्थीले भने, ‘यो मिसको बच्चाको जस्तो अनुहार छ। हामीले के टेर्ने?’ पहिलो दिनदेखि उनलाई सबैभन्दा बढी सताउने उनै विद्यार्थी थिए।
यतिसम्म सताएछन् कि, एकदिन त उनको टाउकोमा पिसावै फेरिदिएछन्।
तर, एकदिन सताउने विद्यार्थी एकाएक बदलिए। टेर्दै नटेर्ने गुञ्जन मिसलाई माया गर्न थाले। किनकि, त्यो दिन ग्वाला बन्ने ती विद्यार्थीको सपनालाई गुञ्जनले माया गरेकी थिइन्। ‘ग्वाला बन्ने कुरा घरमा भनेँ भने कुटाइ खान्छु। तर तपाईंले माया गर्नुभयो,’ ती बालकले भने। सपनालाई बुझिदिएपछि उनी गुञ्जनसँग नजिक हुन थाले।
एकदिन उनले भने, ‘म पछि ग्वाला बनेको कुरा कसरी थाहा पाउनुहुन्छ मिस?’
‘तिमी ग्वाला बनेको कुरा लेख न। ग्वालाको कथा ।’ त्यसपछि ती बालक लेखक बन्ने सपना देख्न थाले।
‘डोल्पाबाट फर्कँँदाको अन्तिम दिन मलाई उनीसङ्ग छुट्न सबैभन्दा गाह्रो परको थियो,’ गुञ्जनले भनिन्।
गुञ्जन पोखराको लेकसाइडमा भइरहेको नेपाल लिट्रेचर फेस्टिभलको सेसन ‘दुर्गमका सर–मिस’मा आफ्ना कुरा सुनाइरहेकी थिइन्। सेसनमा गुञ्जनसँगै मिङ्मा तेन्जिङ केसी र मोइन उद्दिन थिए। जसले गुञ्जनजस्तै सुगम ठाउँको मोह छाडेर दुर्गम गाउँमा गएर विद्यार्थीहरूमा सपनाको बिउ छरिदिएका थिए। उनीहरूका अनुभूति र सिकाउने प्रक्रियाबारे जिज्ञासा राख्दै थिए शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल।
मिङ्मा सिन्धुपाल्चोकमा शिक्षक भएर जाँदाको पहिलो दिन भुइँचालोले लडेका घरहरूका दृश्य आँखामा उनका थिए। चर्को घामले पोल्ने जस्तामुनि उनले पहिलो कक्षा सुरु गरे। त्यहाँबाट फर्कँदाको अन्तिम दिन कोभिड सुरु भएको थियो।
मोइन पनि पहिलो पटक पढाउन सिन्धुपाल्चोक गए। जाँदाको पहिलो दिन घाम डुब्न लागेको थियो। त्यहाँ तामाङ जातिको बाहुल्यता थियो। मनमा डर पनि थियो, के हुने हो भनेर। तर पछिल्ला दिनहरूमा उनले निकै रमाइला अुनभूति गर्न पाए।
त्यहाँबाट फर्कँदाको अन्तिम दिन मोइन निराश थिए। कारण, ४० जना विद्यार्थीलाई छात्रवृत्ति दिलाउने उनको रहर अन्तिम क्षणमा टुक्रियो। कोभिडका कारण विद्यार्थीहरूलाई छात्रवृत्ति दिलाउन नसक्दा मन अमिलो भयो।
विद्यार्थीको आँखामा भरिदिएका सपना
पाँच वर्ष भयो, मोइन शिक्षण यात्रामा लागेको। सिन्धुपाल्चोक जाँदा उनी शिक्षक बन्छु भनेर गएका हैनन्। तर गएपछि नछुट्ने माया बस्यो। ‘विद्यार्थीलाई धेरै सिकाउन र सपना देखाउन सकिन्छ भन्ने लाग्यो। त्यो सपनालाई कसरी पूरा गर्न सकिन्छ भनेर लागेँ,’ उनी भन्छन्।
मोइनले ‘करिअर एक्सपोजर’ विधिमार्फत् सिन्धुपाल्चोकका विद्यार्थीलाई काठमाडौं लगे। उनले अस्पताल, मिडिया हाउस, रंगमञ्च, सिनेमा हल, विभिन्न उद्योग तथा कलाकारहरूसँग विद्यार्थीहरूको भेट गराए। ‘यसरी वास्तविक ठाउँमा लगेर देखाउँदा उनीहरू सपना देख्न थाल्ने रहछन्,’ उनी सम्झन्छन्।
दुई वर्षभरि आफूले गरेके कामको उनले नियमित भ्लग बनाए। त्यही भ्लगमार्फत् मोइनले गरेको कामले चर्चा पायो।
सिन्धुपाल्चाेक हुँदै उनले माथिल्लो डोल्पामा पनि विद्यार्थीहरूसँग काम गरे। अहिले धादिङमा रुपान्तरणमूखी शिक्षणका कर्म गरिरहेका छन्।
मोइनले आफ्ना अनुभव सुनाइरहँदा सहजकर्ता राजेन्द्र दाहालले सोधे, ‘तपाईंलाई शिक्षण पेसा कस्तो लाग्यो त?’
‘मलाई माया लाग्यो। म सबै कुरा मिल्यो भने जीवन यसैमा लगाउन चाहन्छु,’ मोइनले भने।
मोइनलाई मन छ, नेपालभरिका विद्यार्थीलाई अन्तर्राष्ट्रिय भ्रमण गराउने। तराईका विद्यार्थीलाई हिमाल र हिमालका विद्यार्थीलाई तराईमा लगेर पढाउने। ‘पढ्नु भनेको जीवन, जगत बुझ्नु हो। संस्कृति बुझ्नु हो। यसरी भेदभाव पनि कम हुन्छ,’ मोइन भन्छन्।
मिङ्माको लागि दुर्गममा गएर पढाउँदा मीठा अनुभव छन्। उनले राम्रो मानिएको बोर्डिङ स्कुलमा पढ्ने अवसर पाए। तर, सिन्धुपाल्चोकमा विद्यार्थीहरू कोही चप्पल नलगाइ आउने, कोही भाइ बहिनी बोकेर आउने, कोही गाई चराएर स्कुल नआउने। उनका लागि यी चुनौतीलाई समाधानमा बदल्नु नै रमाइलो सिकाइ थियो। ‘मलाई बच्चाहरूसँग काम गर्न एकदम रमाइलो लाग्यो। मैले गरिनँ भने कसले गर्छ त? मैले सक्छु, त्यसैले मैले गरिरहेछु जस्तो लाग्यो,’ उनले भने।
गुञ्जनलाई लाग्छ, ‘मेरा स्कुलका शिक्षक साँच्चै शिक्षक थिए त?’ त्यसकारण उनी आफू ‘साँच्चै’को शिक्षक बन्ने प्रयत्न गरिरहन चाहन्छिन्। उनलाई शिक्षक सेवा आयोगको प्रतिष्पर्धामा भिडेर नाम निकाल्नु छैन। त्यसरी बाँधिएर बस्न मन पनि छैन।
सरकारी शिक्षकको मनोदशा
मोइनले आफू शिक्षण पेसामा लाग्दा सरकारी शिक्षकमा मेहेनत कम हुन्छ भन्ने अनुभूति गरे। त्यसकारण उनलाई लाग्यो, ‘हामीले त केही गर्नुपर्छ।’
स्कुल पढ्दा आफूले अभाव महसुस गरेको कुरा आफू शिक्षक बनेर पूरा गर्न चाहन्छन् मोइन। तर, सरकारी शिक्षकमा परिवर्तन गर्नुपर्छ भन्ने भान उनले पाएका छैनन्। ‘मन दुख्छ, केही भन्न पनि नसकिने। घमण्ड छ शिक्षकमा। हामी लोकसेवा पास गरेर आएको, हामीभन्दा जान्ने कोही छैन भन्नुहुन्छ। तर विद्यार्थीलाई कसरी माया गरेर सिकाउने त्यो छैन,’ उनी भन्छन्।
माथिल्लो डोल्पामा हुँदा सरकारी शिक्षक सदरमुकाममा आएर हाजिर गरेर विद्यार्थीसम्मै नपुगी फर्किको अनुभव छ मोइनमा। गुञ्जनले पनि त्यही देखिन्। सरकारी शिक्षकमा पढाउनुपर्छ भन्ने रुचि नै उनले देखिनन्।
मिङ्मा भने यस्तो हुनुमा सरकारी शिक्षकको विवशता पनि ठान्छन्। ‘आयोग पास गरेर जागिर पाए पनि सुविधा छैन। अस्थाइ शिक्षकको ३ महिनादेखि तलब आएको हुँदैन। अफठ्यारो हुन्छ, घरका समस्या र बाध्यता हुन्छन्,’ मिङ्मा भन्छन्।
पढाइको स्तर कस्तो?
सरकारी स्कुलमा न्याय भएको पाउँदैनन् मोइन। यसकारण शिक्षकले राम्रो तालिम पाउनुपर्ने बताउँछन्। शिक्षकण स्तर सुध्रन बालबालिकाहरूका अभिभावक पनि स्कुल गइरहनुपर्ने बताउँछन मिङ्मा।
सहजकर्ता राजेन्द्र दाहाल नयाँ पुस्तामा शिक्षण गर्नुपर्छ भन्ने सपना नभएको पाउँछन्। ‘उनीहरूलाई यो कर्मतिर कसरी आकर्षित गर्ने?’ उनी सोध्छन्।
‘शिक्षकले समाज बुझेको हुनुपर्छ। समाजमा धेरै कुरा छन् भनेर बुझ्नुपर्छ। म अंग्रेजी शिक्षक भएँ भने अंग्रेजी मात्र जानेर भएन। कक्षा ६ देखि १०सम्मको विद्यार्थीलाई बच्चालाई टिचर तालिम गराउने इच्छा छ। बाबु नानीलाई शिक्षक बन्न पो मन लाग्ला कि,’ मोइन भन्छन्।
विद्यालयलाई माथि उठाउन गुन्जन बलियो नीति र त्यसको कार्यान्वयन हुनुपर्ने बताउँछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।