एजेन्सी - क्यूबाका कम्युनिस्ट क्रान्तिकारी नेता चे ग्वेभाराकी छोरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पागलपनका कारण मानवता नष्ट हुन सक्ने त्रास रहेको बताएकी छन्।
चे की जेठी छोरी डा. अलिदा ग्वेभारा मार्चले अमेरिकाले मानिसहरुको शक्तिलाई कुल्चिन युद्धको प्रयोग गरेको आरोप समेत लगाएकी छन्।
५७ वर्षीया अलिदाले क्यूबाको राजधानी हवानामा 'वीक'सँगको साक्षात्कारमा भनेकी छन्- 'यी व्यक्तिसँग मानवता नष्ट गर्ने निकै तागत छ र हामी मानवताका हिस्सा हौं । उनीसँग तागत छ, स्वविवेक भने छैन।'
अबको दस वर्षपछि क्युबालाई कहाँ देख्नुहुन्छ भन्ने प्रश्नमा अलिदाले भनिन्, 'यो अमेरिकाका वर्तमान राष्ट्रपतिको पागलपनमा निर्भर हुने कुरा हो ।' उनले ट्रम्पतर्फ संकेत गर्दै भनिन्, 'हामी बुझ्दैनौं वा बुझ्न चाहँदैनौं, हामी यो पृथ्वी नष्ट गर्दै छौं । हामी जुन विध्वंस गर्न लागिरहेका छौं, त्यो यसभन्दा अगाडिको निस्क्रियता हो र सत्तामा यस प्रकारका पागल व्यक्तिहरु रहँदा समस्या अझ जटिल बन्दै जान्छ।'
आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले क्यूबासँग फेरि सम्बन्ध स्थापित गर्न सन् २०१४ मा तत्कालीन राष्ट्रपति बराक ओबामाले गरेको सम्झौताको आलोचना गर्दै यसबाट पछि हट्ने निश्चय गरेका थिए । गत जून महिनामा ट्रम्पले क्यूबामा नयाँ यात्रा र कारोबारमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।
अलिदाले सो प्रतिबन्धबाट मेडिकल व्यवस्था र प्रविधिको क्षेत्रमा असर परेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।