काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं–२ की उम्मेदवार कुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधिहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएकी छन्।
शुक्रबार नेतृ पोखरेलले कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा आफूले अवरोध गरेको भनेर झुटो आरोप लगाएको भन्दै जिम्मेवारीबाट पन्छिन खोज्ने जनप्रतिनिधिहरुले पदमा बसिरहन नमिल्ने बताएकी हुन्।
एक दशक बितिसक्दा समेत सडक निर्माण हुन नसकेको भन्दै स्थानीय बासिन्दाले गत मंसिर २२ गतेबाट सडक अवरुद्ध गरेका थिए। त्यसमा कुन्तीले साथ दिएकी थिइन्। त्यसपछिको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा कुन्ती पोखरेलले अवरोध सिर्जना गरेको आरोप लगाएका थिए।
पोखरेलले जनप्रतिनिधिहरुले हरेक पटक बेवास्ता गरिरहेकाले आफूले नागरिकहरुको साथ दिएको बताइन्। उनले नागरिकका समस्या समाधान नभएसम्म आफू नागरिसँगै रहने भन्दै नागरिकका समस्या समाधान गर्नुलाई मेयरले अवरोधका रुपमा लिएको भए यस्ता अवरोध बारम्बार हुने चेतावनी समेत दिइन्।
पोखरेलले साँखु—थली सडक निर्माणको काममा राजनीतिक दलहरुले पूर्वाग्रह देखाएको आरोपसमेत लगाइन्। उनले मेयर कार्कीलाई व्यक्तिगत लाञ्छना र दुष्प्रचार गरी कसैको मानमर्दन नगर्न चेतावनी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।