महेन्द्रनगर– यात्रुवाहक बसको ठक्करबाट कञ्चनपुरमा विद्यार्थीको मृत्यु भएको छ। घरबाट कलेज जाँदै गरेको अवस्थामा शुक्रबार बिहान पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नम्बरको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। उनका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो। बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे। घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए। घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन्। प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।