काठमाडौं– गत आर्थिक वर्ष २०७८–०८९ बाट देखिएको अर्थतन्त्रको समस्या चालु आर्थिक वर्षको सुरुवातबाट केही सुधार हुन थालेको छ। गत वर्ष दबाबमा रहेको देशको ढुकुटी (विदेशी विनियम मुद्रा सञ्चिति), व्यापार घाटा, चालु खाता घाटा, शोधनान्तर स्थिति तगायतका मुलुकका आर्थिक सूचकांकहरू चालु आर्थिक वर्षमा केही सकारात्मक देखिन थालेका छन्।
गत आवमा मुलुकको अर्थतन्त्रमा समस्या देखिन थालेपछि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरेको थियो। सरकारले अन्य आर्थिक क्षेत्रमा पनि केही नीतिगत कुराहरूमा कडाइ गरेको थियो। सरकार तथा राष्ट्र बैंकले गरेको नीतिगत कडाइ र आयात प्रतिबन्धका कारण देशको अर्थतन्त्रका केही सूचकहरू सकारात्मक देखिएका हुन्। राष्ट्र बैंकले बिहीबार देशको वर्तमान आर्थिक अवस्था नामक प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्रका सूचकहरू सकारात्मक बन्दै गएको जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको चार महिनासम्मको तथ्यांकमा देशको ढूकुटी (विदेशी मुद्राको सञ्चिति) ९ अर्ब ६३ करोड डलर पुगेको छ। असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति १ महिनामै १५ करोड डलरले बढेको हो। चालु आर्थिक वर्षको ४ महिनामा १८ प्रतिशतले आयात घट्नुको साथै रेमिट्यान्स आप्रवाह अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेपछि विदेशी मुद्राको सञ्चितिमा सुधार आएको देखिन्छ।
यो वर्षको ४ महिनामा गत आर्थिक वर्षको अन्त्यभन्दा विदेशी मुद्राको सञ्चिति ९ करोड डलरले बढेको छ।
गत आवको अन्त्यमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ५४ करोड डलर रहेको थियो। विदेशी मुद्राको सञ्चिति बढेसँगै शोधानान्तर स्थिति (देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको फरक) पनि २० अर्ब ३० करोड रुपैयाँले बचतमा गएको छ। असोज मसान्तमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो।
आव २०७९-८० को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०७९ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २५.७ प्रतिशत, ७०.० प्रतिशत र २२.४ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।
शोधनान्तर स्थिति
नेपाल राष्ट्र बैंकले चालु आव ४ महिना (कात्तिकसम्म)को मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक गरेको छ। यस अवधिसम्म मुलुकको शोधनान्तर अवस्था २० अर्ब ३ करोड रुपैयाँले बचतमा गएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो। लामो समयदेखि घाटामा रहेको शोधनान्तर अवस्था गत असोज महिनादेखि बचतमा आएको हो। असोजमा शोधनान्तर १२ अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको थियो।
मुलुक बाहिरिनेभन्दा भित्रिने रकम बढी हुनु नै शोधनान्तर बचत हो। सरकारले आयातमा कडाइ गरेकाले पनि शोधनान्तरमा सकारात्मक प्रभाव परेको हो। यता, चालु खाताको घाटामा पनि उल्लेख्य मात्रामा कमी आएको छ। समीक्षा अवधिमा चालु खाता ३५ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने चालु खाता २ खर्ब २० अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको थियो।
आयात र निर्यात दुवैमा गिरावट
चालु आवको ४ महिनाको अवधिमा नेपालबाट हुने निर्यात र नेपालले गर्ने आयात दुवैमा गिरावट आएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको ४ महिनामा निर्यात ३३.३ प्रतिशत र आयातमा १८.१ प्रतिशतले कमी आएको हो। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ महिनाको अवधिमा कुल वस्तु निर्यात ३३.३ प्रतिशत कमी आएर ५४ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ। यस्तो निर्यात अघिल्लो वर्षको सोही अवधिमा १०४.३ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२.३ प्रतिशत र ३४.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.४ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, उनी गलैँचा, चिया, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ता–कपडा लगायतका वस्तुको निर्यात घटेको छ। आव २०७९–०८० को चार महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आइ ५३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पन्ज आइरन, सुन, हवाइजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एमएस विलेट, कच्चा सोयाबिन तेल लगायतका वस्तुको आयात घटेको छ।
२० प्रतिशतभन्दा धेरैले बढ्यो रेमिट्यान्स
चालु आवको चार महिनामा विप्रेषण (रेमिटेन्स) आप्रवाह २०.४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको यसै अवधिमा रेमिटेन्स ७ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो।
कात्तिक मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले बढेर १ लाख ९५ हजार १९६ रुपैयाँ पुगेको छ। यता, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ४६.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो।
४ महिनामा ८.०८ प्रतिशत बढ्यो महंगी
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा ८.०८ प्रतिशतले महंगी बढेको छ। गत आवको ४ महिनामा ६.०४ प्रतिशतले महंगी बढेको थियो। चालु आवमा खाद्य तथा पेय पदार्थको मूल्य ७.३८ प्रतिशतले बढ्दा गैरखाद्य र सेवाको मूल्य ८.६३ प्रतिशतले बढेको छ। चालु आवको ४ महिनामा होटल समूहतर्फ सबैभन्दा बढी १५.९७ प्रतिशतले महंगी बढेको छ।
यसैगरी, सुर्तीजन्य पदार्थको मूल्य ११.८१ प्रतिशत, दुग्ध तथा अण्डाको मूल्य ९.३३ प्रतिशत, मदिराजन्य पेय पदार्थको मूल्य ८.८४ प्रतिशतले बढेको छ। गैरखाद्यतर्फ सबैभन्दा धेरै यातायतको मूल्य १७.७१ प्रतिशत, स्वास्थ्य सेवाको मूल्य ११.२२ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा महंगी ७.५६ प्रतिशतले बढ्दा तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशतले बढेको छ।
औसत् ब्याजदर १२ प्रतिशतभन्दा माथि
वाणिज्य बैंकहरूको कर्जाको औषत् ब्याजदर साढे १२ प्रतिशतभन्दा माथि पुगेको छ। राष्ट्र बैंकले जारी गरेको मासिक विवरणमा कार्तिकसम्ममा कर्जाको भारित औसत् ब्याजदर १२.६५ प्रतिशत रहेको छ। गत वर्षको यसै अवधिमा कर्जाको औषत् ब्याजदर ९.०२ प्रतिशत थियो। विगत १ वर्षमा कर्जाको ब्याजदर ह्वातै बढेको छ। वाणिज्य बैंकहरूको औसत आधारदर २०७८ कात्तिकमा ७.८२ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा १०.६० प्रतिशत कायम भएको छ।
यसरी आधार दर बढ्दा पनि कर्जाको ब्याजदर बढेको हो। २०७९ कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर भने ८.३२ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर ५.८० प्रतिशत थियो।
निक्षेप तथा कर्जाको अवस्था
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.९ प्रतिशतले बढेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।