धनगढी– भारतले महाकाली नदीमा तटबन्ध निर्माणका क्रममा अनधिकृत रुपमा बनाएको संरचना हटाउन ढिलाइ गरेको छ। अनधिकृत संरचना हटाउने भनेर नेपाल–भारतबीच मंसिर २१ मा भएको सहमति कार्यान्वयन गर्न भारतले आनाकारी गरिरहेको हो।
मंसिर २१ गते नेपाली र भारतीय प्रशासनका बीच भारतको धारचुलामा अस्थायी अर्थात् कृतिम तटबन्ध १० दिनभित्र हटाउने सहमति भएको थियो। तर, १० दिन बित्न लाग्दासमेत भारतले ढुङ्गा र तारजालीसहितको तटबन्ध हटाएको छैन।
भारतले उक्त संरचना नहटाए बर्खामा नदीको धार पूरै नेपालतर्फ फर्किइ क्षति गर्ने जोखिम छ। जिल्ला सदरमुकाम खलंगापारी भारतले महाकाली किनारमा करिब १ किलोमिटर लम्बाइ, ८ मिटर उचाइ र चौडाइको पक्की तटबन्ध बनाइरहेको छ।
तटबन्ध निर्माणका क्रममा भारतले नदी किनारमा थुप्रै ढुंगाहरु, तारजालीसहितको बाँध खडा गर्दा पानी नेपालतिर सोझिएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुरानो सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए।
नदी किनारका अस्थायी संरचना हटाउन १० दिनको समयावधि दिइएको र सो अवधिमा ती संरचना नहटाए तत्काल बैठक बसी संरचना हटाउन ध्यानाकर्षण गराइने उनले बताए।
मंसिर २१ गतेको बैठकमा नेपालतर्फ फर्किएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन र संरचना तत्काल हटाउने सहमति भएको प्रजिअ उपाध्यायको भनाइ छ।
भारतले पक्की तटबन्धभन्दा नदी किनारतिर आएर धार परिवर्तन हुने गरी संरचना निर्माण गर्दा नेपाली पक्षबाट विरोध हुदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।