काठमाडौं– ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। बिहीबार काठमाडौं महानगरपालिकाको २८औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरु सहकार्य गर्न तयार रहेको बताए।
मेयर महर्जनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौं महानगरपालिका हुँदै शिवपुरी डाँडासम्म जोड्ने प्रस्ताव पनि अगाडि सारे। साइकल लेन विस्तारका लागि काठमाडौं महानगरपालिकाले अविलम्ब कदम चाल्नुपर्ने उनको भनाइ छ।
‘काठमाडौं एउटा उपत्यका हो। यहाँ कुनैपनि पालिकाले स्वतन्त्र रुपले आफ्नै बल, बुताले सबै पालिकाहरुमा छुने किसिमको मेगा प्रोजेक्ट गर्न गाह्रो पर्छ। काठमाडौं महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसंख्या छ। ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ। तसर्थ अब यहाँ एककिसिमको मेट्रो अथवा र्यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ,’ महर्जनले भने, ‘तसर्थ यसमा म काठमाडौं महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडी बढौँ।’
महर्जनले ललितपुरमा यो वर्ष ३० किलोमिटर साइकल लेन थप्न लागिएको बताउँदै काठमाडौंमा पनि साइकल लेन विस्तार गर्न प्रस्ताव गरे। ‘काठमाडौं महानगरपालिकाका प्रमुखसमक्ष एउटा प्रस्ताव राख्न चाहन्छु, मैले ललितपुरमा त बाइसाइकल लेन बनाएँ। यो वर्ष अब ३० किलोमिटर थप्न गइरहेको छु। ललितपुरबाट काठमाडौंमा पनि जोडौँ। काठमाडौंले बुढानीलकण्ठमा जोडेर शिवपुरीको टुप्पोसम्म बाइसाइकल लेन बनाएर त्यो गोदाबरीको गार्डेनसम्म पुर्याउन पायौँ भने एकदमै राम्रो हुन्छ,’ महर्जनले भने।
मेयर महर्जनले सार्वजनिक खरिद ऐन २०६३ मा आमूल सुधार गर्नुपर्ने बताए। सो ऐन स्थानीय पालिकाको लागि अफापसिद्ध रहेको उल्लेख गर्दै यसमा सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उनले दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।