काठमाडौं– नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, सचिव लगायतका पदाधिकारीको सेयर कारोबार रोक्का राख्न कम्पनीहरूलाई निर्देशन दिएको छ।
नेप्सेले बुधबार एक सूचना जारी गर्दै सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई सो निर्देशन दिएको हो। नेप्सेले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार उक्त व्यवस्था कार्यान्वयन गर्न सबै सूचीकृत कम्पनीलाई अनुरोध गरेको छ। साथै, नयाँ पदमा बहाल हुनेले पनि सेयर रोक्का राखेरमात्र जिम्मेवारी लिनसमेत नेप्सेले निर्देशन दिएको छ।
‘पदाधिकारीहरूले उक्त पदमा बहाल रहँदा वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्ना परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेका फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरीद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्ने सक्ने छैनन्’, निर्देशनमा भनिएको छ।
नेप्सेले उक्त पदमा रहेका पदाधिकारीहरूको सम्बन्धित सूचीकृत कम्पनीमा भएको सेयर सीडीएस एन्ड क्लियरिङ्गमा नियमावलीमा उल्लेखित समयसम्म रोक्का राख्न निर्देशन दिएको छ। नेप्सेले १५ दिनभित्र सेयर रोक्का राखी जानकारी गराउन र उल्लेखित पदाधिकारीहरूको सेयर रोक्का गरेर मात्र जिम्मेवारी लिने व्यवस्था गर्न पनि अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।