काठमाडौं- इलाम- १ बाट प्रतिनिधि सभा सदस्यमा पराजित एकीकृत समाजवादीका नेता झलनाथ खनालले पुन: निर्वाचनको माग गर्दै रिट दायर गरेका छन्। धाँधली भएको उल्लेख गर्दै उक्त निर्वाचन क्षेत्रको निर्वाचन बदर गर्न खनालले रिट दिएका हुन्।
रिटमा उनले मतदानमा धाँधली गरिएको बताएका छन्। मंगलबार सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आफ्नो उजुरीको सुनुवाइ नगरी निर्वाचन अधिकृतले परिणाम घोषणा गरेको भन्दै बदर गर्न माग गरिएको छ।
संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा उनले निर्वाचन आयोग, इलाम-१ निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी र संघीय संसद् सचिवालयलाई विपक्षी बनाएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाललाई नेकपा एमालेका महेश बस्नेतले पराजित गरेका थिए। बस्नेतले २५ हजार ७५३ मत ल्याउँदा खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।