काठमाडौं– फुकोट जलविद्युत् आयोजनाको डोजर (जेसीबी) दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव फेला परेको छ। मंसिर २४ गते (शनिबार) कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ मा जेसीबी दुर्घटना हुँदा ३ जना कर्णाली नदीमा खसेर बेपत्ता भएका थिए।
बेपत्ता भएकामध्ये सान्नी त्रिवेणी गाउँपालिका–१ बस्ने २० वर्षीय उमेश गिरीको सोमबार शव फेला परेको हो। यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–४ घर भएका, जेसीबीका चालक (अपरेटर) २३ वर्षीय मंगल चुडारीको शव मंगलबार फेला परेको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेको हो। उनीहरुसँगै दुर्घटनामा परी हराइरहेका सान्नी त्रिवेणी गाँउपालिकाका १९ वर्षिय रक्तिम सार्कीको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
आयोजनाको सुरुङभित्र पानी हेरी फर्किदै गरेको प्रदेश नम्बर ३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो। जेसीबीमा रहेका ८ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको थियो। ३ जना घाइते भएका थिए भने ३ जना बेपत्ता भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।