एजेन्सी– दक्षिण कोरियामा पछिल्लो समय विवाहमा ढिलासुस्ती हुने क्रम बढेसँगै नवविवाहित दम्पतीमा गिरावट आएको यहाँको सरकारी कार्यालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कले देखाएको छ।
कोरियाली तथ्याङ्क कार्यालयका अनुसार सन् २०२१ को नोभेम्बर १ सम्म पाँच वर्षको अवधिमा कानुनी रूपमा विवाह गरेका दम्पतीको सङ्ख्या ११ लाख एक हजार रहेको छ । नवविवाहितको यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत अर्थात् ८२ हजारले कम हो।
सन् २०१५ देखि यस सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो सङ्ख्या सबैभन्दा कम हो। धेरैजसो युवाहरूले आवासको बढ्दो मूल्य र युवाहरूका लागि उच्च बेरोजगारीजस्ता आर्थिक कठिनाइहरूको कारण विवाह गर्न छोडेको वा ढिलाइ गरेको बताइएको छ।
पाँच वर्षको अवधिमा पहिलो पटक विवाह बन्धनमा बाँधिएका दम्पतीको सङ्ख्या गत वर्ष आठ लाख ७१ हजार अर्थात् कूल विवाहको ७९।१ प्रतिशत थियो भने दोस्रो विवाह गर्नेको सङ्ख्या दुई लाख २७ हजार अर्थात् २०।६ प्रतिशत रहेको थियो।
पहिलो पटक विवाह गरेका दम्पतीमध्ये ४५.८ प्रतिशतले सन् २०२१ मा बच्चा जन्माएका छैनन्। यो अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले बढी हो।
सन् २०२१ मा नवविवाहित जोडीबाट जन्मिएका शिशुको औसत सङ्ख्या अघिल्लो वर्षको ०।६८ बाट घटेर ०.६६ मा झरेको छ।नवविवाहित जोडीमध्ये ५०।४ प्रतिशत दोहोरो आय भएका दम्पतीले बच्चा जन्माएका छैनन् भने एकल आय भएका दम्पतीमध्ये ३९।५ प्रतिशतले बच्चा जन्माएका छन्।
घरको स्वामित्वको कुरा गर्ने हो भने आफ्नै घर भएका ५९.९ प्रतिशत नवविवाहित दम्पतीले बच्चा जन्माएका छन्, जुन घर नभएका नवविवाहित दम्पतीको सङ्ख्याभन्दा बढी हो अर्थात् घर नभएका ५०।१ प्रतिशत दम्पतीले बच्चा जन्माएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।