काठमाडौं– निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिध सभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको बताएको छ।
सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कूल खसेको मतको ५.०६ प्रतिशत मत बदर भएको बताए।
उनले प्रदेश सभाको समानुपातिक तर्फको मत सबैभन्दा बढी बदर भएको बताए। उनले प्रदेश सभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६.५५ प्रतिशत मत बदर भएको जानकारी दिए। त्यस्तै, सबैभन्दा कम प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत बदर भएको उनले जानकारी दिए।
प्रदेश सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको बदर मत प्रतिशत ४.०७ प्रतिशत छ। सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा मत बदर भएको उनले जानकारी दिए। उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ हेर्दा सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ४.१६ प्रतिशत मत बदर भएको छ।
आयोगका उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ। प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४.०७ प्रतिशत र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६.५५ प्रतिशत मत बदर भएको भए।
उनले समग्र ६१.४१ प्रतिशत मतदान भएको जानकारी दिए। सबैभन्दा बढी मधेस प्रदेशमा ६५.७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.८० प्रतिशत मतदान भएको उनको भनाइ छ। प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ ६१.४१ प्रतिशत मतदान भएको उनले बताए।
त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६१.३५ प्रतिशत, प्रदेश सभाको प्रत्यक्षतर्फ ६१.३६ प्रतिशत र प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ ६१.३१ प्रतिशत मतदान भएको आयोगका उपसचिव भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।