गुल्मी– गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा अटिजम भएका बालबालिकाको सिकाईलाई प्रभावकारी बनाउन पाठशाला स्थापना गरिएको छ। यस क्षेत्रमा अटिजम भएका बालबालिकाहरुको संख्या बढी रहेकोले अटिजम पाठशालाको स्थापना गरिएको हो।
जसका कारण अविभावकलाई समेत सहज भएको छ। रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ मा पाठशाला सञ्चालन भएपछि अटिजम भएका बालबालिकाको सिकाई प्रभावकारी बन्दै गएको छ।
बालबालिकाको सिकाईका लागि सहज होस् भन्ने उद्देश्यले स्थानीय समाजसेवीको पहलले २०७४ मा पाठशाला स्थापना गरिएकोे थियो। व्यक्तिको निजी घरबाट सुरु भएको पाठशालालाई व्यवस्थित गर्नका लागि रुरुक्षेत्र गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको सहयोगमा ६० लाख लगानीले ५ कोठासहितको भवन निर्माण भएको छ।

पाठशालाको आफ्नै भवनले बालबाललिकाको सिकाईमा सहजता ल्याएको छ। ‘यो पाठशाला सुरु हुनुभन्दा अघिसम्म मेरो भाईलाइ के भएको भन्ने थाहा नै थिएन, अस्वाभाविक हर्कतहरुका कारण बाँधेर राख्नुपर्ने र आफ्नो काम गनुपर्ने अवस्था थियो’, अभिभावक बिमला परियार भन्छिन्, ‘अहिले यस पाठशालाको स्थापना पछि अटिजम भएका बालबालिकाहरुको सिकाईमासमेत विस्तारै परिर्वतन देखिन थालेको छ।’
अटिजम भएका बालबालिका आफू मात्र पाठशाला आउन नसक्ने र सिकाई प्रभावकारी नहुने भएकोले अभिभावक पनि बालबालिकासँगै आउने र सिकाउने गर्दछन्।
पाठशालाले शिक्षक कर्मचारी सहयोगका रुपमा राखेको छ। अटिजम भएका बालबालिलाई सिकाउनका लागी पर्याप्त सामग्री अभाव रहेको पाठशाला संचालक बताउँछन्। पाठशाला आवसीय बन्न नसक्दा अटिजम भएका बालबालिका र उनका अभिभावकले सास्ती खेप्नुपरेको छ।
राज्यबाट पाठशालामा आवसीय सुविधा र शिक्षक कर्मचारीको पहल भएमा पाठशाला अझै बढी प्रभावकारी बन्नसक्ने पाठशालाका सञ्चालक समितिको अध्यक्ष अमृता भण्डारीले बताइन्। अटिजम पाठशालामा अहिले १४ जना बालबालिकालाई ३ जना शिक्षक कर्मचारीले सिकाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।