म्याग्दी– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय मर्यादाक्रममा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गर्ने व्यवस्थाका लागि सकारात्मक पहल भइरहेको बताएका छन्।
वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीको पनि मर्यादाक्रम निर्धारणका लागि आफूहरुले पहल गरेको र यसमा सरकार सकारात्मक रहेको बताए। म्याग्दी उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभालाई शनिबार बेनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘मैले निर्वाचनअघि गृहमन्त्रीसमक्ष यो प्रस्ताव राखेको छु, उहाँ सकारात्मक हुनुहुन्छ र चाँडै नै हामीले मर्यादाक्रम प्राप्त गर्ने अवस्था बनेको छ।’
ढकालले गृहमन्त्री बालकृष्ण खाणसमक्ष व्यवसायीको मर्यादाक्रमका विषयसहित मेला महोत्सव गर्ने अधिकार जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई मात्र दिनुपर्छ भनेर महासंघले आग्रह गरेको जानकारी दिए।
कोभिड महामारीपछि विश्वव्यापी रुपमा आर्थिक गतिविधि संकुचन भएको र त्यसको सिधा प्रभाव नेपालमा परिरहेको उल्लेख गर्दै ढकालले बैंकमा तरलता अभाव र कर्जा प्रवाह गर्न नसक्ने अवस्था अहिलेको मुख्य समस्या भएको बताए।
जिल्ला तथा नगर उद्योग वाणिज्य संघको समस्याबारे आफूहरु जानकार रहेको र त्यसको समाधानका लागि महासंघको नेतृत्वले निरन्तर पहल गरिरहेको उनको भनाइ छ।
आईएमई समूहका अध्यक्षसमेत रहेका उद्यमी ढकालले सातवटै प्रदेशमा चन्द्रागिरीजस्तै पर्यटकीय पूर्वाधार बनाउन लागिपरेको जानकारी दिँदै पर्यटन, जलविद्युत् लगायतका क्षेत्रमा गैरआवासीय नेपालीलाई पनि सँगै अगाडि बढाउनुपर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।