वासिंटन (एजेन्सी) – उत्तर कोरियाली शासक किम जोन उनले आफ्ना शीर्ष कर्मचारीको हत्या गरेर कर्मचारीतन्त्रलाई थर्कमान मात्र बनाएका छैनन्, निरन्तर आणविक हतियार परीक्षण गरी शक्तिराष्ट्रहरुलाई आतंकित पनि तुल्याएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभामै किमलाई पागलको संज्ञा दिएका थिए । तर, अमेरिकी गुप्तचर संस्था (सिआइए) का उच्चपदस्थ कर्मचारीले भने किम विरूद्ध आगो नओकल्न ट्रम्पलाई सुझाव दिएका छन् । सिआइएका कर्मचारीले भनेका छन्, ‘वाक् युद्ध जारी राखे वास्तविक युद्ध हुन सक्छ।’
सिआइएले आफ्नो राष्ट्रपतिभन्दा किमलाई बुद्धिमान भनेको छ । सिआइएको उत्तर कोरिया हेर्ने उपप्रमुख योङ सुक लीले जर्ज वासिंटन युनिभर्सिटीमा आयोजित सम्मेलनमा भनेका छन्, ‘किम बुद्धिमान शासक हुन् । किममा पागलपन छैन । उनले प्रस्ट नीतिमा आधारित भएर आफ्नो कामलाई निरन्तरता दिइरहेका छन्।’
योङले थप भनेका छन्, 'अमेरिकाले इराकबाट सद्दाम हुसेनलाई लखेट्यो । लिबियाबाट मोहम्मर गद्दाफीलाई अपदस्थ गर्यो । उत्तर कोरियाले ‘किम वंश’ को शासन हटाउन वासिंटन सक्रिय नबनोस् भनेर आणविक हतियारको निरन्तर परीक्षण गर्दै आएको छ।'
आणविक र परमाणु हतियार परीक्षण गरेकै आधारमा आफ्नो देशमा अमेरिकी सेनाले हस्तक्षेप गर्न नसक्ने रणनीतिमा किम ढुक्क देखिन्छन् । यसैले तत्काल युद्धको सम्भावना नरहेको उपप्रमुख योङ बताउँछन् । उनी भन्छन्, ’अमेरिकाले आक्रमण नगर्दासम्म हमला गरेर ध्वस्तै पार्ने पक्षमा किम छैनन्।’
योङका अनुसार, किम आफ्नो शासनकालमा अमेरिकाले अनावश्यक दबाव नदियोस् भन्ने चाहन्छन् ।
अमेरिकाले किम जोन उनको शासनकालमा अप्ठ्यारो पार्ने मनसायले उत्तर कोरियामाथि नाकबन्दी बढाउँदै लगेको छ । नाकाबन्दी जति कडा हुन्छ, उत्ति नै शक्तिशाली क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले गरिरहेको छ।
अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस र विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियामाथि कडा प्रतिवाद गर्नुपर्ने बताए पनि ट्रम्प प्रशासनका कतिपयले शान्तिपूर्ण समाधानको प्रयास गर्नुपर्ने बताइरहेका छन् । यद्यपि शान्तिपूर्ण समाधानको पक्षमा रहेका प्रशासकको प्रतिक्रियालाई राष्ट्रपति ट्रम्पले निरन्तर खण्डन गर्दै आएका छन् । उनी किम जोङ उन विरुद्ध वाक् युद्धमा लागेका छन् । ट्रम्पले सार्वजनिक रुपमै किमको अपमान गर्ने गरेका छन्।
’जब हाम्रो राष्ट्रपतिको अभिव्यक्ति उनीहरु समक्ष पुग्छ, उत्तर कोरियाले पनि त्यस्तै अपमानजनक अभिव्यक्ति दिन्छ । धेरै अपमान खेप्नुपरे के नीति लिने भन्ने पक्षमा उत्तर कोरियाले अध्ययन गरिरहेको छ’, अमेरिकी रक्षा मन्त्रालयमा काम गरेका जोसेफ डेट्रानीको विश्लेषण छ।
किम जोन उन द्वन्द्वमा रमाउने नेता भएकाले अमेरिकासँग पनि द्वन्द्वयुक्त सम्बन्ध राख्न खोजेको सिआइएको बुझाइ छ।
कोरियाली प्रायद्वीपबाट अमेरिकी सेनालाई हटाउने महत्वाकांक्षा किममा रहेको गुप्तर संस्था सिआइएले बताएको छ । ‘किमको लक्ष्य कोरियाली प्रायद्वीपमा अमेरिकाको उपस्थिति हटाउनु हो’, सिआइएका उपनिर्देशक योङले भने–‘उत्तर कोरिया पनि विश्वको एउटा शक्ति हो भन्ने देखाउन किम लागिपरेका छन्।’
सिआइएका विज्ञले उत्तर कोरियालाई कम आँक्न नहुने तर्क राखेका छन् । ‘उत्तर कोरियाको चाहना विश्वमा आफ्नो बलियो उपस्थिति दर्साउनु हो, त्यसमा बाधा पुर्याउन खोज्नेलाई उसले निरन्तर आतंकित बनाइएको छ,’ डेट्रानी भन्छन्, ‘उत्तर कोरियालाई दबाउने होइन । समस्या सुल्झाउनेतर्फ लाग्नु बुद्धिमानी हुनेछ।’
उत्तर कोरियालाई पाखा लगाउन खोजिए अमेरिकाले गम्भीर परिणाम भोग्न सक्ने उनको आकलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।