काठमाडौं– सबैभन्दा पछि मतगणना सुरु भएका बाजुरा, दोलखा र स्याङ्जाको क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ। तीन जिल्लामा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार गठबन्धनकै उम्मेदवारले अग्रता लिएका हुन्।
स्याङ्जा क्षेत्र नम्बर २ मा करिब दुई हजार बढी मतान्तरले कांग्रेसका धनराज गुरुङले अग्रता कायम गरेका छन्। उनले २२ हजार ४६० मत प्राप्त गर्दा नेकपा एमालेकी पद्मा अर्यालले २० हजार २६७ मत ल्याएकी छन्।
यस्तै सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७ हजार ३२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। यता बाजुरामा पनि नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता लिएका छन्। उनले ९ हजार ९५९ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापाले ७ हजार २१० मतसहित पछ्याइरहेका छन्।
१० वटा मतदान केन्द्रमा पुनM मतदानपछि मात्र मतगणना सुरु भएको दोलखामा पनि गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगाबादुर कार्कीले अग्रता लिएका छन्।
७ हजार ९९५ मत सहित कार्कीले अग्रता कायम गरिरहँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत प्राप्त गरेका छन्। बूथ कब्जा भएको भन्दै एमालेको निवेदन पछि यहाँका १० मतदान केन्द्रमा पुनM मतदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।