काठमाडौं– इरानी सुरक्षाकर्मीले कतारमा जारी विश्वकपमा आफ्नो टिम पराजित भएर बाहिरिँदा खुसीयाली मनाउने एक समर्थकलाई गोली हानेर हत्या गरेका छन्।
हत्या गरिएको युवाको नाम मेहरान समक भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ।
ओस्लोस्थित इरानी मान अधिकारवादी समूहको दाबीअनुसार अमेरिकाले इरानलाई पराजित गरेपछि २७ वर्षीय समकले बन्दर अन्जाली भन्ने ठाउँमा आफ्नो गाडीको हर्न बजाएर खुसी मनाइरहेका थिए। यति नै बेला सुरक्षाकर्मी उनको गाडीनजिकै पुगेर गोली हानेको बताइएको छ।
मंगलबार राति विश्वकपको समूह ‘बी’अन्तर्गत अमेरिकासँगको खेलमा इरान ०–१ गोलले पराजित भएको थियो।
पराजयसँगै इरान विश्वकपको समूह चरणबाटै बाहिरियो। उत्तरी इरानमा यो पराजयलाई लिएर समर्थकहरूले खुसी मनाएका थिए। उनीहरूले सार्वजनिक रूपमै देशको पराजयमा खुसीयाली मनाए।
केही भिडियो फुटेजमा बाटोमा निस्किएर इरानी समर्थकले आफ्नै देशको हारमा खुसी मनाउँदै नाचेको तस्बिर सार्वजनिक भएको थियो।
इरानमा अहिले सरकारको विरोधमा प्रदर्शन भइरहेको छ। महिला अधिकारलाई लिएर विगत केही महिनादेखि मानिसहरू सडकमा उत्रिएका छन्।
उनीहरूले फुटबल टिमलाई सरकारी अंगकै रूपमा परिभाषित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।