काठमाडौं– ट्युनेसियाका वाहवी खाज्री कतार विश्वकपमा आफ्नो जन्म देशविरूद्ध गोल गर्ने दोस्रो खेलाडी बन्न पुगेका छन्। यसापलिको विश्वकपमा आफू जन्मिएको देशविरूद्ध पहिलो गोल गर्ने खेलाडी स्विट्जरल्याण्डका ब्रिल इम्बोलो थिए। उनले आफू जन्मिएको देश मोरक्कोविरूद्ध निर्णायक गोल गरेका थिए।
मंगलबार समूह ‘डी’ को खेलमा विश्वकप जितिसकेको फ्रान्सलाई १–० गोलले पराजित गर्न वाहवी खाज्रीले ५८ मिनेटमा निर्णायक गोल गरेका थिए।
उनको जन्म फ्रान्सको कोरसिकामा भएको थियो। उनले फ्रान्सको युथ–२१ टोलीमा बसेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। सन् २०१८ को विश्वकपमा ट्युनेसियाको टोलीमा देखा परेका खाज्रीको विश्वकपमा यो तेस्रो गोल थियो।
उनी विश्वकपमा तीन गोल गर्ने अफ्रिकी खेलाडी पनि बनेका छन्। उनले सन् २०१८ मा बेल्जियम र पानामाविरूद्ध गोल गरेका थिए।
उनले सन् २०१६ मा इंग्लिस क्लब सन्डरल्याण्डबाट व्यवसायिक फुटबल खेलेका थिए। ३१ वर्षीय आक्रामक मिडफिल्डर हाल फ्रान्सकै माेन्टेपिलरबाट खेल्ने गर्छन्। उनी ट्युनेसियाकाे कप्तान पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।