काठमाडौं– ट्युनेसियालाई कमजोर ठान्ने गल्ती गर्दा फ्रान्सले विश्वकपको अन्तिम समूहगत खेलमा ०–१ गोलको नमिठो पराजय भोगेको छ। केलियन एम्बाप्पे र एन्टोन ग्रेजमन जस्ता स्टार खेलाडीलाई बेञ्चमा राखेर खेलको सुरुवात गरेका फ्रान्सका लागि मंगलबारको दिन नमिठो सावित भयो। लेस ब्लुजविरूद्ध दोस्रो हाफको ५८ मिनेटमा वाहवी खाज्रीले गोल गर्दै ट्युनेसियालाई अग्रता दिलाएका थिए। गोललगत्तै ट्युनेसियाले उनलाई पद्स्थापन गरेको थियो।
आजको खेलमा ट्युनेसियालाई केही गुमाउनु थिएन। विश्वकपको अघिल्लो दुई खेलमा पराजय भोगेको ट्युनेसिया पहिले नै समूह चरणबाट बाहिरिसकेको थियो। आफ्नो नियमित गोलरक्षक कप्तान ह्युगो लोरेसलाई विश्राम दिनु पनि फ्रान्सका लागि दुर्भाग्य सावित भयो।
पहिलो गोलले पछाडि परेपछि फ्रान्सले एम्बाप्पे र ग्रेजमनलाई मैदानभित्र पठाएको त थियो तर त्यसले नतिजा निस्किएन।
निर्धारित ९० मिनेटपछि थप भएको १२ मिनेटको खेलको आठौं मिनेटमा ग्रिजमनले गोल फर्काएका थिए तर भारले उनको गोललाई अमान्य घोषित गर्यो। फ्रान्स समूहको शीर्षस्थानमा रहदै अन्तिम १६ मा प्रवेश गरेको छ। यही समूहको अर्को खेलमा अष्ट्रेलियाले १–० गोलले डेनमार्कलाई पराजित गर्यो। फ्रान्स र अष्ट्रेलिया दुवैले समूहमा ६ अंक जोडे पनि गोल अग्रताका कारण फ्रान्स समूह विजेता बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।