काठमाडौं– कतारमा जारी २२औँ संस्करणको विश्वकपअन्तर्गत अन्तिम १६ मा नेदरल्याण्ड्स र अमेरिकाको भेट हुने पक्का भएको छ।
समूह ‘ए’को अन्तिम खेलमा गएराति आयोजक कतारलाई २–इ ले हराउँदै नेदरल्याण्ड्स समूह विजेता बनेको छ।
यस्तै, समूह ‘बी’को निर्णायक खेलमा इरानलाई १–० ले पाखा लगाउँदै अमेरिका समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो। समूह ‘ए’को विजेता र समूह ‘बी’ उपविजेताको हैसियतमा नेदरल्याण्डस् र अमेरिकाको अन्तिम १६ मा भेट पक्का भएका्े हो।
मंगलबार राति नेदरल्याण्ड्सले आयोजक कतारलाई २–० गोलले पराजित गरेको थियो।
नेदरल्याण्ड्सका लागि कोडि गाक्पाले २६ र फ्रयाङ्की डी जोङले ४९ मिनेटमा गोल गरेका थिए। गाक्पाको यो विश्वकपमा तेस्रो गोल थियो।
चार वर्षअघि रुसमा भएको विश्वकपमा नेदरल्याण्ड्स छनोट हुन सकेको थिएन। यसपालि अपराजित हुँदै ७ अंकका साथ समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ।
यसैगरी, अमेरिकी समर्थक तथा आफ्ना साथीहरूबाट ‘अमेरिकी क्याप्टेन’ को उपमा पाएका इंग्लिस क्लब चेल्सीका पूर्व आक्रामक मिडफिल्डर क्रिस्टियन पुलिसिकले गरेको एक मात्र निर्णायक गोलको सहयोगले अमेरिका विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो।
उनले ३८ मिनेटमा गरेको गोलका कारण इरानको विश्वकपमा पहिलो पल्ट नकआउट चरणमा प्रवेश गर्ने सपना बीचैमा तुहियो। इरानलाई १–० गोलले पराजित गरेको अमेरिका भने ८ वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। सन् २०१८ मा अमेरिका रुसमा भएको विश्वकपमा छनोट हुन सकेको थिएन।
समूह ‘बी’ मा इंग्ल्याण्ड तीन खेलमा अपराजित हुँदै ७ अंकका साथ समूह विजेताको रूपमा छनोट भयो। अमेरिका ५ अंकसहित दोस्रो हुँदै छनोट भएको छ।
अब अन्तिम १६ मा इंग्ल्याण्डको भेट समूह ‘ए’को उपविजेता सेनेगलसँग हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।