काठमाडौं- इरान विरूद्धको खेलमा एक अमेरिकी दर्शकलाई कतारी सुरक्षाकर्मीले प्यारापिटबाट घोक्र्याएर बाहिर निकालेका छन्।
ब्रायन डेभिस नाम गरेका ती दर्शक मंगलबार इरानलाई जित्नै पर्ने खेल हेर्न अल थुमामा रंगशाला पुगेका थिए। उनलाई रंगशाला प्रवेशका लागि सुरुमा स्वीकृति प्रदान गरिएको थियो। तर सुरक्षाकर्मीले उनको हातमा रंगीन ‘रिष्ट ब्याण्ड’ देखेपछि बाहिर निकालेका थिए।
डेभिसले आफू खेल हेर्न आएको भन्दै प्यारापिटबाट बाहिरिन मानेका थिएनन्। तर सुरक्षाकर्मीले घोक्र्याएर बाहिर निकालेको दावी गरे।
अमेरिकाले यो खेलमा १-० को जित निकाल्दै नकआउट चरणको यात्रा तय गरेको थियो। कतारी सुरक्षाकर्मीले समलिङ्गी सम्बन्धलाई प्रोत्साहन गर्ने सबै गतिविधिलाई जारी विश्वकपमा विरोध जनाएको छ।
इंग्लिस कप्तान हयारी केनदेखि थुप्रै राष्ट्रका खेलाडीले यसअघि एलजीबीटी प्लसको गतिविधिलाई प्रोत्साहित गर्न रेन्बो कलरको आर्म ब्याण्ड लगाएर फुटबल खेल्ने जनाएका थिए। तर फिफाले फुटबलमा कुनै किसिमको धर्म र समूदायको पैरवी गर्न नपाइने भन्दै उनीहरूलाई प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। यसपछि सबै देश पछि हटेका थिए।
कतार मुस्लिम देश भएको हुनाले यहाँ समलिङ्गी सम्बन्धलाई प्रतिबन्ध लगाइएको छ। यद्यपि, कतार सरकारले एलजीबीटी समूहको गतिविधिलाई कडाइ गरे पनि पोर्चुगल र उरुग्वेबीच सोमबार भएको खेलमा एक दर्शक मारियो फेरी सुपरम्यानको टिसर्ट लगाएर एलजीबीटीको रेन्बो कलरको कपडा फहराउँदै मैदान प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।