काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा मंगलबारदेखि समूह चरणका अन्तिम खेल हुँदैछन्।
प्रत्येक समूहमा रहेका चार टिमले समूह चरणअन्तर्गत तीन–तीन खेल खेल्नुपर्ने हुन्छ। समूह चरणका दुई खेल सबै देशले खेलिसकेका छन्।
जसअन्तर्गत मंगलबारदेखि समूह चरणको अन्तिम तेस्रो खेल हुँदैछ। यो खेलपछि १६ देश समूह चरणबाटै घर फर्कने छन् भने १६ देश नकआउट चरणमा प्रवेश गर्नेछन्।
मंगलबारको पहिलो खेलमा समूहका ‘ए’ का इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार भिड्दैछन्। यी दुईको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ।
इक्वेडर र सेनेगलबीचको खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा तथा नेदरल्याण्ड्स र आयोजक कतारबीचको खेल अल बेत रंगशालामा हुनेछ।
मंगलबारै राति १२ः४५ बजे समूह ‘बी’को पनि दुई खेल हुँदैछ। समूह ‘बी’का इरान र अमेरिका तथा वेल्स र इंग्ल्याण्डबीचको खेल हुँदैछ।
तर, इरान र अमेरिकाबीचको खेल बहुप्रतीक्षित हो। किनकि, यी दुई देश राजनीतिक दुश्मन हुन्। त्यो फुटबलमा पनि देखिने गर्छ।
सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा इरान र अमेरिका एउटै समूहमा थिए। सो खेल अनेपेक्षित रुपमा इरानले २–१ ले जित्यो। त्यसपछि इरानले यसलाई राजनीतिक जितको रुपमा हेरेको थियो। अमेरिकालाई हराए पनि इरान अन्य दुई खेल हारेपछि दोस्रो चरणमा पुग्न सकेन। तर, अमेरिकालाई हराएकोमा उनीहरूले वाइल्ड सेलिब्रेसन गरेका थिए, विश्वकप नै जितेजसो गरेर। खेल दौरान पनि दुई देशका खेलाडीले एक–अर्काविरुद्ध धेरै फल खेलेर युद्धको झल्को दिएका थिए।
योपटक पनि त्यो झल्को देखिने सम्भावना देखिएको छ। किनकि, खेलको पूर्वसन्ध्यामा अमेरिकी फुटबल संघले इरानलाई चिढाउने हिसाबले क्रियाकलाप गरेको छ। संघले आफ्ना सामाजिक सञ्जालमा इस्लामिक प्रतीक नभएको इरानको राष्ट्रिय झण्डा प्रयोग गरेको छ।
यसलाई इरानी पक्षले मन पराएको छैन। समूह ‘बी’मा इंग्ल्याण्ड ४ अंकसकित शीर्ष स्थानमा छ। इरान ३ अंकसहित दोस्रोमा छ। अमेरिकाले २ अंक जोड्दा वेल्सले १ अंकमात्र बटुल्न सकेको छ। यस्तोमा, नकआउट चरणमा पुग्नका लागि इरान र अमेरिका दुवै टोलीलाई जितको खाँचो छ। यसर्थ, राजनीतिक रङमिसिने मात्र नभएर प्राविधिक रुपमा पनि यो खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।
इरान कम्तीमा १९९८ को नतिजा कायम राख्न चाहन्छ भने अमेरिका त्यसको बदला लिन चाहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।