काठमाडौं– कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबलमा तीन राष्ट्र समूह चरणमा एक खेल खेल्नुभन्दा अगावै अन्तिम १६ मा प्रवेश गरेका छन्। जसमा फ्रान्स, ब्राजिल र पोर्चुगल छन्।
फ्रान्स गत शुक्रबार नै डेनमार्कलाई २–१ ले हराउँदै फ्रान्स एक खेल अगावै अन्तिम १६ मा पुगेको हो । यसअघि उसले अष्ट्रेलियालाई ४–१ ले हराएको थियो। फ्रान्स ६ अंकसहित अन्तिम १६ मा पुगेको हो। अब फ्रान्सले समूह चरणको अन्तिम खेल ट्युनिसियाविरुद्ध खेल्नेछ। त्यसले समूह विजेता–उपविजेताको टुंगो लाग्नेछ।
यस्तै, सोमबार राति भएका दुवै खेलमा विजयी भएका ब्राजिल र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका हुन्।
सोमबार राति ९ः४५ मा स्विट्जरल्याण्डसँग ब्राजिल १–० ले विजयी भएको थियो। खेलको ८३ औं मिनेटमा ब्राजिलका लागि क्यासेमिरोले गरेको खोल जितका लागि निर्णायक भएको थियो।
यससँगै एक खेल बाँकी रहँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो। समूह ‘जी’मा ब्राजिल ६ अंकसहित शीर्ष स्थानमा छ। यो समूहमा स्विट्जरल्याण्डको २ खेलमा ३ अंक तथा क्यामरुन र सर्बियाको समान १-१ अंक रहेको छ। ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० गोलले पराजित गरेको थियो। अब ब्राजिलले क्यामरुनसँग खेल्न बाँकी छ।
सोमबार नै भएको यसै समूहको खेलमा सर्बिया र क्यामरुनले ३–३ गोलको बराबरी खेलेका थिए।
यस्तै पोर्चुगल पनि एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको छ। सोमबार मध्यराति १२ः४५ मा भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान बनाएको हो।
पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४ औं मिनेट र अन्तिम इन्जुरी समयमा गरी दुई गोल गरे। यता समूह ‘एच’ मा सोमबार भएको खेलमा घानाले दक्षिण कोरियालाई हरायो। पोर्चुगल समूहको शीर्ष स्थानमा छ। यद्यपि, अन्तिम खेलको नतिजाले विजेता–उपविजेताको टुंगो लाग्नेछ। पोर्चुगलले दक्षिण कोरियाको सामना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।