अल्भारेज मुक्का हान्दै।
दोहा– बक्सिङको थुप्रै प्रतिस्पर्धा जितेका मेक्सिकोका स्टार बक्सर कानेलो अल्भारेजले आफ्नो देशको झण्डाको अपमान गरेको भन्दै अर्जेन्टिनी फुटबल स्टार लिओनल मेसीलाई धम्की दिएका छन्।
मेक्सिकोविरूद्ध समूह ‘सी’ को दोस्रो खेलमा अर्जेन्टिनाले २–० गोलको जित निकाल्दा मेसीले एउटा गोल गरेका थिए। पहिलो खेलमा साउदी अरेबियाबाट १–२ गोलले पछाडि परेको अवस्थामा मेक्सिकोसँगको जितपछि अर्जेन्टिनी खेलाडीले चेञ्जिङ रुममा गएर खुसी मनाएका थिए। त्यतिबेला मेसीको खुट्टा नजिकै मेक्सिकोको झण्डाको रंग भएको जर्सी देखिएको थियो।
भिडियो सार्वजनिक भएपछि अल्भारेज उद्देलित भएका हुन्। भिडियोमा गीतमा नाचिरहेका मेसीले आफ्नो जुत्ता बजार्दा भूईमा भएको मेक्सिकोको जर्सीमा लात्ति लागेको देखिएको छ।
‘तपाईहरूले मेसीलाई हेर्नुभयो, उसले हाम्रो जर्सी र झण्डाले भूइँ पुछिरहेको थियो,’ अल्भारेजले ट्वीट गरेका छन्, ‘उसले भगवानसँग प्रार्थना गरे हुन्छ, मसँग जम्काभेट नहोस् भनेर।’

उनले जसरी आफूले अर्जेन्टिनालाई सम्मान गर्छु, त्यसरी नै उनले पनि मेक्सिकोलाई सम्मान गर्नुपर्ने बताएका छन्। ‘म पुरै देशको विषयमा भनिरहेको छुइनँ, मात्र मेसीको बेवकूफीको कुरा गरिरहेको छु।’
उनको ट्वीटलाई लिएर अर्जेन्टिनी समर्थकले कडा प्रतिक्रिया दिएका छन्। अल्भारेजले सस्तो प्रचारका लागि मेसीलाई विवादमा तान्न खोजेको भन्दै अर्जेन्टिनी समर्थकहरू भड्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।