दोहा– सर्वियाविरूद्धको खेल अगाडि क्यामरुनले आफ्नो स्टार गोलकिपर आन्द्रे ओनानालाई बर्खास्त गरेको खुलासा भएको छ। प्रशिक्षक रिगोबेर्ट सङसँग अभ्यासका क्रममा झगडा गर्न गएपछि ओनानालाई टिमबाट बर्खास्त गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले पुष्टी गरेका छन्।
इन्टर मिलानका स्टार गोलकिपरको खेल्ने तरिकालाई लिएर सङले आपत्ति जनाएका थिए। तर, उनी उल्टै प्रशिक्षकसँग झगडा गर्न गएपछि उनलाई बर्खास्त गरिएको हो। प्रशिक्षक सङले जोखिम मोलेर डिबक्स बाहिर निस्किने ओनानाको शैलीप्रति असन्तुष्टी जाहेर गरेका थिए। उनी खेलमा कुनै किसिमको जोखिम उठाउन चाहिरहेका थिएनन्।
प्रशिक्षक र गोलकिपरबीचको झगडा मिलाउन पूर्वस्टार तथा संघका अध्यक्ष सामुअल इटोले मध्यस्थता गरेका थिए। तर, गोलकिपर ओनानाले आफ्नो खेल्ने शैलीमा कुनै किसिमको परिवर्तन नगर्ने बताएपछि सोमबार सर्वियाविरूद्धको खेलमा डेभिस एपासीलाई उतारिएको थियो। यो खेल ३–३ गोलको बराबरीमा टुंगिएको थियो।
ओनाना विवादास्पद छवीका खेलाडी मानिन्छन्। प्रतिबन्धित औषधी प्रयोग गरेको आरोपमा उनलाई १२ महिनाको प्रतिबन्ध लागेको थियो। तर, उनले टाउको दुखेको बेला श्रीमतीले गलत दबाई दिएको भन्दै अपील गरेका थिए। उनको अपीललाई युरोपेली फुटबलले स्विकार गर्दै ९ महिनापछि प्रतिबन्ध हटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।