काठमाडौं– थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा बस्तीका मानिसहरूको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन्।
घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसी काअनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये धेरैको टाउकोमा चोट छ। 'टाउकोमा ७ टाँकासम्म लगाउनु परेको छ। टाउकोबाहेक छाती, ढाड र खुट्टामा चोट लागेका विरामी धेरै छन,' केसीले भने।
नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो।
सूचनाअनुसार मंसिर ४ गतेभित्र बस्तीका संरचना खाली गर्नुपर्ने थियो। त्यस अवधिमा किनाराका संरचना हटेको थिएन।
आजको घटनाबारे जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने, ‘गृह प्रशासनसँग समन्वय गरेर सचेत गराउने क्रममा थियौं। त्यही क्रममा बस्तीमा पुग्न नपाइ स्थानीयबाट घरेलु हतियारसहित ढुङ्गा हानेर आक्रमण भयो।'
स्थानीयले ढुङ्गा प्रहारसँगै टायर बालेर प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।