काठमाडौं– कतारमा जारी २२ औं विश्वकप फुटबलमा सर्बियाले रोमाञ्चक कमब्याक गरेको छ। पहिलो हाफ सकिँदासम्म सर्बियाले क्यामरुनविरुद्ध २–१ को अग्रता बनाएको छ। १–० ले पछि परेको स्थितिलाई उल्टाएर सर्बियाले खेल २–१ को स्थितिमा ल्याएको हो।
खेलको २८ औं मिनेटमा क्यामरुनका जेन चार्लेस क्यास्टलेटोले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अतिरिक्त समयमा फ्रि–किकमार्फत प्रहार गरिएको बललाई सर्बियाका इस्ट्राहिन्जा पाल्भोभिचले हेड गर्दै जाली चुमाएका थिए। त्यसपछि सर्बियाले क्यामरुनविरुद्ध बराबरी गरेको थियो।
लगत्तै सर्बियाले क्यामरुनविरुद्ध दोस्रो गोल गरेको थियो। सर्बियाका सर्गिज मिलिन्कोभिज साभिचले गोल गरेका हुन्। योसँगै सर्बियाले क्यामरुनविरुद्ध रोमाञ्चक कमब्याक गर्दै पहिलो हाफमा २–१ को अग्रता लिएको हो।
समूह ‘जी’का यी दुई टोलीको खेल अल जनबु रंगशालामा भइरहेको छ। यी दुबै टोलीले पहिलो खेल हारेर अंकबिहीन भएका छन्।
पहिलो खेलमा सर्बिया ब्राजिलसँग २–० ले पराजित भएको थियो भने क्यामरुन पहिलो खेलमा स्वीट्जरल्याण्डसँग पराजित भएको थियो।
पहिलो जित निकाल्दै विश्वकप यात्रा सहजै बनाउन दुबै टोलीलाई आजको खेल जित्नै पर्ने हुन्छ। पहिलो खेलमा जित निकालेका यही समूहका ब्राजिल र स्विट्जरल्याण्डको खेल सोमबार राति ९ः४५ बजे हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।