गुल्मी– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी जिल्लामा ७ हजार बढी मत बदर भएको छ। प्रतिनिधि सभा २ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ ७ हजार ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।
जिल्लामा २ लाख २३ हजार ६१५ मतदातामध्ये १ लाख २८ हजार ९७५ जनाले मतदान गरेका थिए। जस अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ १ हजार ८२५ र प्रदेश सभातर्फ १ हजार ६५९ मत बदर भएको छ।
त्यस्तै, क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ १ हजार ८९३ र प्रदेश सभातर्फ १ हजार ६८४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले बताए।
धेरै संख्यामा मत बदर हुनुमा दलहरु गठबन्धन गरेर जानु र गाउँगाउँमा मतदाता शिक्षा समयमा नपुग्नु जस्ता कारणहरु हुन सक्ने जानकारहरुको भनाइ छ।
यसपटककको निर्वाचनमा मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले नै प्रतिनिधि सभाको मतपत्र दिने ठाउँमा प्रदेश सभाको मतपत्र दिने जस्ता त्रुटिले मतदानमा समस्या उत्पन्न समेत भएको थियो। जसका कारण क्षेत्र नम्बर १ को एउटा केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था सिर्जना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।