काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जितेको रौतहट–१ मा समानुपातिकमा भने एकीकृत समाजवादी पछि परेको छ।
नेपाली कांग्रेस १९ हजार ११९ मत ल्याएर पहिलो बनेको छ भने नेकपा एमाले ११ हजार ८९ मतसहित दोस्रो नम्बरमा छ। एकीकृत समाजवादीले भने उक्त क्षेत्रमा अहिलेसम्म जम्मा ९ हजार ५७८ मत पाएको छ।
समानुपातिकमा ९२ लाख ८० हजार ६६२ मत गणना भइसकेको छ। १५ लाख हाराहारीमा मत गणना बाँकी रहँदा एकीकृत समाजवादी भने थ्रेस होल्ड कटाउनै संघर्ष गरिरहेको छ। यसपल्ट तीन प्रतिशत पुर्याउन तीन लाखभन्दा केही बढी मत आवश्यक हुने देखिएको छ।
एकीकृत समाजवादीले हालसम्म २ लाख ५० हजार ९९४ मत पाएको छ। सबैभन्दा धेरै नेकपा एमालेले २५ लाख २८ हजार ७६६ मत पाएको छ।
यसैगरी नेपाली कांग्रेस २३ लाख ९४ हजार २३९ मतसहित दोस्रो दल बनेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६२ हजार ८६६ मत सहित तेस्रो दल छ।
यस्तै माओवादी केन्द्र १० लाख ५९ हजार ५२९ मतसहित चौथो बनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ०३१ मत पाएको छ। जनता समाजवादी पार्टी, नेपालले पनि थ्रेस होल्ड कटाएको छ। ३ लाख २३ हजार ८७० मतसहित राष्ट्रिय पार्टी बन्ने निश्चित गरेको हो।
२ लाख ६० हजार १६० मत पाएको जनमत पार्टीको राष्ट्रिय पार्टी बन्ने झिनो सम्भावना कायम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।