काठमाडौं। स्पेनलाई १–१ गोलको बराबरीमा रोक्दै चार पल्टको विश्व च्याम्पियन जर्मनीले कतारमा जारी विश्वकपमा आफ्नो यात्रालाई यथावत राखेको छ। स्पेनसँगको पराजय उसका लागि विश्वकपबाट बाहिरिने नतिजा हुन सक्थ्यो।
तर, निकलास फुलक्रुगले ८३ मिनेटमा गोल गर्दै जर्मनीको सपनालाई जिवित तुल्याए। यसअघि अल्भारो मोराटाले ६२ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। निकलास फुलक्रुगले पहिलाे गाेलले पछि परेकाे २१ मिनेटमा बराबरी गोल फर्काए।
पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएको अवस्थामा दुवै टोलीले दोस्रो हाफमा खेलाडी परिवर्तन गरेका थिए। जसमा मैदान प्रवेश गरेको ८ मिनेटभित्रै मोराटाले गोल गरेका थिए भने फुलक्रुगले पनि मैदान प्रवेश गरेको १३ मिनेटमा आफ्नो टिमलाई सफलता दिलाए।
६२ मिनेटमा पछाडि परेकाे अवस्थामा जर्मनीले त्यसको ७ मिनेटपछि दुई खेलाडी फुलक्रुग र जमाल मुसियालालाई मैदान प्रवेश गराएको थियो। जर्मनीले गोल हान्दा यी दुवै खेलाडीको भूमिका महत्वपूर्ण रहयो। निकलासका लागि गोलको अवसर मुसियालाले नै मिलाएका थिए।
खेल बराबरी भएपछि समूह ‘इ’ मा जर्मनीले नकआउट चरणमा प्रवेश गर्ने योजनालाई जिवित तुल्याएको छ। जर्मनीसँग अंक बाँडेको स्पेन ४ अंकसहित शीर्षस्थानमा छ। अब उसले अन्तिम खेल एसियाको ‘पावर हाउस’ जापानसँग खेल्नुपर्ने छ।
जापानले पहिलो खेलमा जर्मनीलाई २–० ले पराजित गरेको थियो। जापान यो समूहमा तीन अंकसहित दोस्रो स्थानमा छ। उ दोस्रो खेलमा कोस्टारिकाबाट पराजित भएको थियो।
कोस्टारिकाको पनि २ खेलबाट ३ अंक छ। उसलाई पहिलो खेलमा स्पेनले ७–० ले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।