काठमाडौं– आन्द्रेइ क्रामारिचको २ गोलको सहयोगले क्यानडालाई ४–१ गोलले पराजित गर्दै क्रोएसियाले कतारमा जारी विश्वकपमा नकआउट चरण प्रवेशको सपनालाई जिवित राखेको छ।
तर, सुरुवातमा गोलको अग्रता लिएको क्यानडा भने समूह ‘एच’ बाट बाहिरिएको छ। उसले मोरक्कोसँग अझै एक खेल खेल्न बाँकी छ। बेल्जियम र क्रोएसियाबीचको लगातार दुई खेलमा पराजय भोगेपछि उ बाहिरिएको छ।
क्रोएसियाको जितले बेल्जियम पनि ‘डेन्जर जोन’ मा प्रवेश गरेको छ। उसलाई आइतबार भएको पहिलो खेलमा मोरक्कोले ०–२ गोलले स्तब्ध पारेको थियो।
क्यानडाले अल्फान्सो डेभिसको गोलमा खेल सुरु भएको २ मिनेटभित्रै अग्रता लिएको थियो। क्यानडाको विश्वकपमा यो पहिलो गोल थियो।
तर, क्यानडाले गोल अग्रतालाई लामो समय कायम राख्न सकेन। ३६ मिनेटमा क्रामारिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए। अझ, ४४ मिनेटमा मार्को लिभाजाले अर्को गोल थपेपछि क्रोएसियाले पहिलो हाफमै २–१ गोलको अग्रता बनाएको थियो।
दोस्रो हाफको ७० मिनेटमा क्रामारिचले व्यक्तिगत दोस्रो गोल थपेपछि क्यानडा ३–१ ले पछाडि पर्यो। उनलाई यतिबेला गोलका लागि पेरिसिचले बल मिलाइदिएका थिए। चौथो तथा अन्तिम गोल मिडफिल्डर लोभो मायरले गरे। उनले क्यानडाको डिफेन्स लाइन अगाडि बढेको मौकाको फाइदा उठाउदै निर्धारित ९० मिनेटको खेल समाप्त भएर थप गरिएको अतिरिक्त समयको चौथो मिनेटमा गोल गरे। उनी ८६ मिनेटमा अतिरिक्त खेलाडीको रूपमा कोभासिचको ठाउँमा मैदान प्रवेश गरेका थिए।
क्रोएसियाले बिहीबार समूह चरणको अन्तिम खेल बेल्जियमसँग खेल्ने छ। क्रोएसिया ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ भने बेल्जियम ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ। मोरक्को पनि ४ अंकका साथ दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।