काठमाडौं- कतारमा जारी विश्वकप फुटबलमा बेल्जियमविरुद्ध मोरक्कोले महत्वपूर्ण जित निकालेको छ। दोस्रो हाफमको ७३औं मिनेटमा र अतिरिक्त समयमा गोल गर्दै मोरक्कोले महत्वपूर्ण जित निकालेको हो। जारी विश्वकपमा मोरक्को यो पहिलो जित हो।
मोरक्कोको जितमा अब्देलहमिद साबिरी र जाकिरा ओबुकाहल नायक बने। साबिरीले ७३ औं मिनेटमा हानेको फ्रि–किक सिधै गोलमा परिणत भएको थियो।
खेलको अतिरिक्त समयमा हाकिम जियाचको पासमा जाकिरा ओबुकाहलले गोल गरे। यसअघि पहिलो हाफको अतिरिक्त समयमा फ्रि किकमार्फत मोरक्कोका हाकिम जियाच हानेको बल अफसाइडमा बसेका मोरक्कोका खेलाडीलाई छोएपछि भारमार्फत गोल रद्द भएको थियो।
बेल्जियमले पाएका धेरै अवसरलाई सदुपयोग गर्न नसक्दा हार ब्यहार्यो।
अल थुमामा रंगशालामा मोरक्कोले जित निकालेसँगै आफ्नो समूहको शिर्ष स्थानमा उक्लिएको छ। ४ अंकसहित मोरक्को समूह ‘एफ’ को शिर्ष स्थानमा उक्लिएको छ। मोरक्कोले पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो।
यता बेल्जियमले पहिलो खेलमा खेलमा क्यानडासँग १–० को संघर्षपूर्ण जित निकालेको थियो। समान दुई खेल खेलेका मोरक्कोको ४ अंक छ भने बेल्जियमको ३ अकं छ । यही समूहमा रहेर एक खेल कम खेलेको क्रोएसियाको १ अंक र क्यानडा भने अंकविहीन छ।
यो समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो अब अन्तिम खेलबाट लाग्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।