काठमाडौं– युवा खेलाडी। सर्ट पास। बलमा पकड। निरन्तर विपक्षीमाथि दबाब। सुन्दर खेल। टिकीटाका शैली। र, उत्कृष्ट फिनिसिङ।
अहिलेको स्पेनिस टिमको परिचय यिनै हुन्। यसअघि निरन्तर लाग्दै आएको गोलको खडेरीको आरोपलाई तोड्दै स्पेनिस टिमले कतारमा जारी खेलमा सानदार सुरुवात गरेको छ।
स्पेनको इतिहासमा विश्वकपमा सबैभन्दा फराकिलो जित कोस्टारिकाविरुद्ध ७–० को निकाल्दै लुइस इनरिकेको टिमले आफ्नो फर्मलाई प्रमाणित गरेको छ। कोस्टारिकाविरुद्ध ८२ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै ९४ प्रतिशत सफल पास खेलेको स्पेनले आफ्नो टिकीटाका शैलीलाई फेरि अब्बल प्रमाणित गर्ने लयमा देखिन्छ।
यही टिकीटाका शैलीले नै स्पेनले सन् २००८ मा युरोकप, सन् २०१० मा विश्वकप र फेरि सन् २०१२ मा युरोकप जित्दै ठूला प्रतियोगिताको उपाधि उचाल्दै ह्याट्रि गर्दै रेकर्ड समेत राखेको थियो।
त्यसपछि सोचेअनुसार गर्न नसकेको स्पेनिस टोलीले अहिले फेरि स्वर्ण युगमा फर्केको भन्दै फुटबल पण्डितहरूले विश्लेषण समेत गरे। जारी विश्वकपमा पहिलो खेल सकिएपछि गोल डटकमले गरेको विश्वकप जित्न सक्ने टोलीको पावर र्याङकिङको दोस्रो नम्बरमा स्पेनिस टिमलाई राखेको थियो।
उत्कृष्ट फर्ममा रहेको स्पेन चार पटकको विश्वविजेता जर्मनीसँग आमनेसामने हुँदैछ। नेपाली समयअनुसार आइतबार राति १२ः४५ बजे यी दुई टोली आमनेसामने हुँदैछन्। यी दुईको खेल अल बेत रंगशालामा हुँदैछ।
पहिलो खेलमा ७–० को नतिजा निकालेर उच्च मनोबलमा रहेको स्पेनसँग जापानसँग हार ब्यहोरेको जर्मनी खेल्दैछ।
पहिलो खेलमै हार व्यहोरेर दबाबमा आएको जर्मनीलाई अर्को चरण प्रवेशको आशा जीवितै राख्न आजको खेल जित्नुपर्ने हुन्छ। यही समूहको दोस्रो खेलमा जापानलाई कोस्टारिकाले हराएसँगै जर्मनीलाई केही राहत भने मिलेको छ।
यसपटकको ग्रुप अफ डेथको रुपमा हेरिएको यो समूह यस्तो हो जहाँ दुई विश्वविजेता टोली (स्पेन र जर्मनी)सहित एसियन पावरहाउस जापान र कोस्टारिका छन्। समूहबाट अर्को चरणमा को जान्छ भन्ने निकै कठिन छ।
गएको युरोकपमा सेमिफाइनलसम्म पुगेको इनरिकेको टिम स्पेन अहिले युवा खेलाडीले भरिभराउ छ। पेड्री, गाभी, फाती, विलियम्स, बाल्डे जस्ता युवा खेलाडी स्पेनको टिममा छन्।
यता जर्मन टिममा पनि स्टार खेलाडी छन्। मुलर, गनाबर्री, मानुयल निउर, काए हाभार्ट, मुसिएला, लेरोय साने जस्ता प्रतिभावान खेलाडी छन्। जसकारण यी दुईको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ।
स्पेनले सन् २०२० नोभेम्बरमा नेसन्स लिगमा जर्मनीलाई ६–० ले हराएको थियो। स्पेन र जर्मनीको अन्तिम भेट यही थियो। त्यसपछि आज राति यी दुई टिम आमनेसामने हुँदैछन् । जर्मनीले सन् १९३१ यतिको फराकिलो अन्तरले हार ब्यहोरेको हो। त्यही कीर्तिमानी पुनः दोहार्याउँदै एक खेल अघि नै स्पेन अर्को चरणमा प्रवेश गर्ने दाउमा हुनेछ भने जर्मनी त्यसको बदला लिँदै अर्को चरण जाने सम्भावना जीवितै राख्ने दाउमा हुनेछ।
यी दुई टिमको अन्तिम पाँच खेलको कुरा गने हो भने दुई खेल स्पेनले जितेको छ भने दुई खेल बराबरी र एक खेल जर्मनीले जितेको छ।
स्पेनले आफ्ना पछिल्ला १२ खेलमा ९ जित, दुई बराबरी र एक हारको व्योहरेको छ। जर्मनीले भने पछिल्ला ९ खेलमा २ मा जित ५ बराबरी र २ हार ब्यहोरेको छ।
विश्वकपको कुरा गर्ने हो भने यी दुई टोली पाँचौं पटक भिड्न लागेका हुन्। यसअघि सन् १९६६ मा यी दुई टोली पहिलोपटक भिडेका थिए। त्यतिबेला जर्मनी २–१ गोलले विजयी भएको थियो।
सन् १९८२ को विश्वकपमा जर्मनीले २–१ गोलले नै हराएको थियो। सन् १९९४ को विश्वकपमा यी दुई टोली बराबरीमा रोकिएका थिए । त्यतिबेला दुबैतर्फबाट एक–एक गोल भएका थिए। सन् २०१० को विश्वकपमा स्पेनले जर्मनीलाई १–० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।