बाग्लुङ– यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन्। बाग्लुङ क्षेत्र नम्बर १ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधि सभा सांसद घरदैलोमा पुगेर धन्यवाद दिन थालेका हुन्। विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको घर–घरमा पुगेका छन्।
बागलुङ–१ बाट निर्वाचित भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ–१ (१)मा विजयी भएका दीपेन्द्रबहादर थापा र बागलुङ–१ (२)बाट निर्वाचित डिल्लीराम सुवेदी मतदाताको घर–घरमा धन्याबाद दिँदै पुगिरहेका छन्।
बागलुङ–१ (१)बाट निर्वाचित थापाले यो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँगाउँ पुग्न थालेको बताए।
उनी भन्छन्, ‘हामी भोट माग्न खेतबारीदेखि घरगोठसम्म पुग्यौँ, कामको चटारोको बेला उहाँहरूलाई डिस्टर्ब पनि गर्यौँ होला, अब उहाँहरूलाई धन्यवादसहित मतदातका समस्या बुझ्न अहिले फेरि गाउँ–गाउँमा पुग्दै छौँ, पहिले मत माग्यौँ, अब उहाँको समस्या के छ माग्छौँ, हामीहरूले सक्ने समाधान गरेरै छाड्छौँ।’
उनले निर्वाचनको परिणाम आएदेखि नै आफूहरू मतदातालाई धन्यवाद दिँदै घर–घरमा पुगेको बताए। बागलुङमा यही मङ्सिर ७ गते नै प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको थियो। गठबन्धनका विजयी उम्मेदवारले मङ्सिर ९ देखि १६ गतेसम्म मतदाता धन्यबाद कार्यक्रमको समयतालिका बनाएको भन्दै सोहीअनुसार आफूहरु गाउँ–गाउँमा पुग्ने बताए।
सांसद केसीले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताए। उनले जनताले आफूहरूलाई भरोसा गरेर जिताएको भन्दै अब जनताको आवश्यकता र समस्यालाई समाधान गर्ने गरी काम गर्ने बताए।
‘अहिले पनि बागलुङका जनताले राम्रो स्वास्थ्योपचार, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी पाउन सकेका छैनन्, उनीहरूको समस्या पहिलेजस्तो थियो, अहिले पनि उस्तै छ,’ उनले भने, ‘हामीलाई विश्वास गरेर जिताउनुभएको छ, अब उहाँहरूको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गरेका छौँ, हामी सकेको गर्छौँ, नसक्ने आश्वासन दिँदैनौँ।’
बागलुङ–२ (२) बाट निर्वाचित दोर्णकुमार कुँवरले जनताको समस्या समाधानका लागि विगतदेखि लाग्दै आएको भन्दै अब संसद्मा समेत उनीहरूको आवाज बुलन्द गर्ने बताए। उनले पश्चिम बागलुङ विगतदेखि नै पिछडिएको हुँदा यहाँका समस्या समाधानका लागि आफू लागिरहने प्रतिबद्धता जनाए।
उनी भन्छन्, ‘मैले पश्चिम बागलुङको समस्या राम्रोसँग बुझेको छु, सबै गाउँ–गाउँमा पुगेको छु, त्यहाँका गरिब, दुःखी, दलित र जनतातिका समस्या बुझेको छु, म भोट माग्नमात्रै होइन, पहिले पनि गाउँ–गाउँमा पुगेको छु, अहिले पनि सबै मतादातालाई भेट्ने, उहाँका गुनासा, समस्या सुन्ने र धन्यवाद दिने गरी म बस्ती–बस्तीमा पुगिरहेको छु।’
उनले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको सबै बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने र खुसी साट्ने गरी कार्यक्रम तय गरेको बताए। बागलुङ–२ (१)बाट निर्वाचित कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले पनि मतदातालाई भेट्दै र धन्यवाद दिँदै गाउँ–गाउँमा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।