काठमाडौं– कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शनका कारण अर्जेन्टिनाले विश्वकपको समूह चरणको खेलमा उत्कृष्ट पुनरागमन गरेको छ। पहिलो खेलमा साउदी अरेबियाबाट २–१ ले पराजित अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्यो।
यी दुवै गोलमा मेसीको योगदान थियो। पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको अवस्थामा मेसीले दोस्रो हाफको ६४ मिनेटमा एञ्जेल डि मारियाको पासमा गोल गरे।
उनको यो विश्वकपमा आठौं गोल थियो। उनले आफ्नो देशको दिंवगत महान खेलाडी म्याराडोनाको विश्वकपमा ८ गोल गर्ने कीर्तिमानलाई बराबरी गरेका छन्। अर्जेन्टिनाकै गुइलेर्मो स्टेबलले पनि विश्वकपमा ८ गोल गरेका थिए।
म्याराडोनाको शनिबार दोस्रो पुण्यतिथि थियो। म्याराडोना बराबर नै विश्वकपको २१ खेल खेल्ने उत्रिएका मेसीले दोस्रो गोलका लागि इन्जो फर्नान्डेजलाई पास मिलाइदिएका थिए।
दोस्रो हाफपछि अतिरिक्त खेलाडीको रूपमा प्रवेश गरेका इन्जोले ८७ मिनेटमा गोल गरे। मेसी विश्वकपमा अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। अब उनीभन्दा अगाडि गार्बियल बाटिस्टुटा मात्र छन्। बाटिस्टुटाले विश्वकपमा १० गोल गरेका छन्।
पछिल्लो विश्वकपमा अर्जेन्टिनाले गरेको १६ मध्ये १० गोलमा मेसीको प्रत्यक्ष योगदान रहेको छ। उनले यसअवधिमा ७ गोल आफैले गरेका छन् भने ४ वटा गोलका लागि पास मिलाइदिएका थिए।
मेक्सिकोसँगको जितपछि समूह ‘सी’ मा ३ अंक जोडेर अर्जेन्टिना माथि उक्लिएको छ। उसले आज हारेको भए प्रतियोगिताबाट बाहिरिने थियो। अब अर्जेन्टिनाले अन्तिम खेल पोल्याण्डसँग खेल्ने छ। पोल्याण्ड ४ अंकसहित शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।