काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार राजेन्द्र महतो सर्लाहीको क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा पराजित भएका छन्। उनलाई नेपाल समाजवादी पार्टी (नेसपा)का महेन्द्र रायले पराजित गरेका हुन्।
महतो रायसँग दुई हजार १३ मतान्तरले पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ।
वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका नेसपाका रायले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न लिएर २३ हजार ५२९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका महतोले २१ हजार ५१६ मत पाए।
पटक–पटक मन्त्री भएका महतो चर्चित उम्मेदवार हुन्।
त्यसैगरी सर्लाही–२ प्रदेश सभा (ख)बाट नेपाली कांग्रेसका कौशलकिशोर यादव विजयी भएका छन्। उनले लोसपाका उम्मेदवार मेभुर चौधरीलाई १७९ मतान्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
यादवले ९ हजार ६२६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका चौधरीले ९ हजार ४४७ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।