काठमाडौं– ट्युनिसियालाई १–० गोलले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने आफ्नो योजनालाई जिवन्त तुल्याएको छ।
शनिबार समूह ‘डी’ अन्तर्गत दोस्रो खेलमा मिचेल ड्युकको गोलको सहयोगले सकरूजले पहिलो जित सम्भव पार्यो। पहिलो खेलमा अस्ट्रेलिया ४–१ गोलले फ्रान्ससँग पराजित भएको थियो।
अस्ट्रेलियाको जितमा २३ मिनेटमा ड्युकले हेडिङमार्फत गोल गरे। उनले गुडविनको क्रसमा हेडिङमार्फत गोल गरेका थिए। उनको यो गोल जारी विश्वकपको ५० औं गोल थियो।
विश्वकपमा हेडिङमार्फत् गोल गर्ने उनी दोस्रो अस्ट्रेलियन खेलाडी पनि बने। यसअघि टिम काहिलले सन् २०१० मा सर्विया र २०१४ मा चिलीविरूद्ध हेडिङ गोल गरेका थिए।
दोस्रो हाफमा ट्युनेसियाले खेलमा फर्किन थुप्रै प्रयास गरेको थियो। तर, सकरुजका गोलकिपरले आफ्नो गोल पोस्टलाई सुरक्षित राखे। यो जितसँगै अस्ट्रेलियाले अंक तालिकामा ३ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।