काठमाडौं– आयोजक कतार विश्वकपको समूह चरणको खेलबाट बाहिरिने पहिलो टिम बन्ने सम्भावना बढेको छ।
उसलाई अफ्रिकी देश सेनेगलले दोस्रो खेलमा पनि ३–१ गोलले पराजित गर्यो। शुक्रबार भएको समूह ‘ए’ को दोस्रो खेलमा सेनेगलका लागि बुलेइ जिया, फमारा डडायु र बाम्बा दियाङल गोल गरे। कतारका लागि विश्वकपमा पहिलो गोल मोहम्मद मुन्तारीले गरेका थिए। उनले खेलको ७८ मिनेटमा गोल गरेका थिए। कतारले विश्वकपको पहिलो खेलमा इक्वेडरविरूद्ध एक गोल पनि गरेको थिएन। उ २–० ले पराजित भएको थियो।
पहिलो खेलभन्दा केही परिस्कृत देखिएको कतारले पहिलो हाफमा राम्रो खेल प्रदर्शन गर्यो। तर, उसले ४१ मिनेटमा दूर्भाग्यपूर्ण रूपमा गोल खाएपछि पहिलो हाफमा १–० ले पछाडि पर्यो। कतारविरूद्ध बुलेइ जियाले पहिलो गोल गरेका थिए।
दोस्रो हाफमा खेल सुरु भएको ३ मिनेटमै फमाराले अर्को गोल थपे। उनले ४८ मिनेटमा ज्याकोब्सले क्रस गरेको बलमा उत्कृष्ट हेडिङ गोल गरेका थिए। मुन्तारीले बीचमा गोल गर्दै खेललाई फर्काउने प्रयास नगरेका होइनन्। तर, ८२ मिनेटमा दियाङले तेस्रो गोल थपेपछि आयोजक टिम स्तब्ध भयो।
विश्वकपमा पराजय भागेपछि कतारको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना लगभग समाप्त भएको छ। आज राती हुने यही समूहअन्तर्गत नेदरल्याण्ड र इक्वेडरबीचको खेल बराबरीमा टुंगिएको खण्डमा कतार नेदरल्याण्ड्सविरूद्धको अन्तिम खेल नखेल्दै विश्वकपबाट बाहिरिने छ।
नेदरल्याण्ड्स र इक्वेडरले यसअघि एक–एक खेल जित्दै ३–३ अंक जाेडिसकेका छन्। सेनेगलले दुई खेलबाट ३ अंक जाेडेकाे छ। कतारले दुवै खेल गुमाउँदा खाता खाेल्न सकेकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।