काठमाडौं– बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका संजय कुमार गौतम विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गौतम प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
बर्दिया १ बाट गौतमको यो तेस्रो जित हो। उनी यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचन र २०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका थिए।
२०७४ सालमा तत्कालीन वाम गठबन्धनका ‘प्रभावशाली’ उम्मेदवार वामदेव गौतमलाई पराजित गरेका संजयले यसपटक तत्कालीन वाम गठबन्धनको प्रमुख साझेदार माओवादी र एकीकृत समाजवादी समेतको साथ पाएर जितको ह्याट्रिक पूरा गरेका हुन्।
गौतम ३० हजार ६११ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणलाल ज्ञवालीले २६ हजार १५५ मत ल्याए। गौतम र पौडलबीच ४ हजार ४५६ मतको अन्तर रह्यो।
यस्तै, नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत ल्याए। पत्रकारिता छाडेर रशेम चौधरी नेतृत्वको उन्मुक्ति पार्टीबाट राजनीतिमा होमिएका थारुले पहिलो निर्वाचनमा ‘उल्लेख्य’ मत ल्याए पनि जित भने दर्ता गर्न सकेनन्। कान्तिपुर दैनिकका पूर्व पत्रकार रहेका थारु नेपाल पत्रकार महासंघ, बाँकेका पूर्वअध्यक्ष समेत हुन्।
बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ११ हजार ४ मत ल्याए भने जनमत पार्टीका सोहराव पठानले २ हजार ३५५ मत ल्याए। यस्तै, राप्रपाका सूर्य बहादुर सिंहे २ हजार २६६ मत ल्याए भने जनता समाजवादी पार्टीका रेशम बहादुर खत्रीले १ हजार मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।