विराटनगर- नेपाली कांग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ।
६ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश रहेको मोरङका लागि जिल्ला कार्य समितिको बैठकले क्षेत्र नं– १ बाट पार्टी सभापति डिगबहादुर लिम्बू र क्षेत्र नं ५ बाट अमृत अर्यालको नाममा सर्वसम्मत निर्णय गरेको छ। दुवै जना सांसद हुन्।
जिल्लाका ६ वटै क्षेत्रबाट संसदीय क्षेत्र, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि आएका नामलाई बैठकले अनुमोदन गरी केन्द्रमा सिफारिस गरिएको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी गराए।
सोहीअनुरुप, क्षेत्र नं १ बाट प्रत्यक्षका लागि एकमात्र डिगबहादुर लिम्बू छन्।
क्षेत्र नं २ बाट सुजाता कोइराला, डा मीनेन्द्र रिजाल र काशिरामलाई सिफारिस गरिएको छ। सो क्षेत्रबाट समानुपातिकसमेत गरी ३७ जनाको नाम सिफारिस गरिएको छ। क्षेत्र नं ३ बाट सुनीलकुमार शर्मा, मानबहादुर लिम्बू, भौसीदेवी खवास र समानुपातिकसमेत गरी २८ जना, क्षेत्र नं–४ बाट महेश आचार्य, दिलीप गच्छदार र डा मीनेन्द्र रिजाल र समानुपातिकसमेत गरी ३५ जनाको नाम परेको छ।
त्यसैगरी क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ एकमात्र अमृत अर्याल छन् भने समानुपातिक समेत गरी ३९ जना र क्षेत्र नं ६ बाट डा शेखर कोइराला, रमेशजङ्ग रायमाझी, डा डीला संग्रोला र अशोक कोइरालाको नाम सिफारिस गरिएको छ। सोमध्ये डा कोइराला र अशोक कोइराला सांसद हुन्। उनीहरु समेत गरी सो क्षेत्रबाट ६९ जनाको नाम सिफारिस गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।