लन्डन– ६० हजार दर्शक क्षमताको अल–बायत रंगशाला निर्माणका क्रममा आप्रवासी मजदुरहरूले ज्याला र उचित पारिश्रमिक नपाएको भन्दै नेपाली कामदार नारायणप्रसाद सिग्देलले रोकिएको पारिश्रमिक दिलाइदिन इंग्ल्याण्डका कप्तान ह्यारी केनलगायत विश्वकप खेल्न कतार पुगेका अन्तर्राष्ट्रिय खेलाडीसँग आग्रह गरेका छन्।
उनले भिडियो सन्देश जारी गर्दै केन र अन्य अन्तर्राष्ट्रिय फुटबल खेलाडीसँग अपिल गरेका हुन्। उनको सन्देश मानव अधिकारवादी समूहले रेकर्ड गराएका थिए।
सिग्देलले इंग्ल्याण्डका स्ट्राइकरसँग विशेष रूपमा आग्रह गर्नुको कारण इंग्लिस टोलीले शुक्रबार यही रंगशालामा अमेरिकाविरूद्ध प्रतिस्पर्धा गर्दैछ। उनले रंगशाला निर्माण क्रममा आफूले १५०० पाउण्ड तलब लिन बाँकी रहेको बताएका छन्।
अल–बाहेत रंगशाला राजधानी दोहादेखि २० माइल टाढा पर्छ। यो ठूलो रंगशाला निर्माण गर्दा नेपाली कामदारले दैनिक १० पाउण्ड मात्र ज्यालादारी पाउने गरेको लण्डनबाट प्रकासित अखबारहरूले बताएका छन्। सिग्देलले सम्झौंताको अन्त्यमा आफूले काम छोड्दा पाउनुपर्ने अतिरिक्त भुक्तानी पनि नपाएको दाबी गरे।
कतारले विश्वकप आयोजनाको जिम्मा पाएपछि १२ वर्षको अन्तरालमा पूर्वाधार निर्माणका क्रममा हजारौं आप्रवासी कामदारले ज्यान गुमाएका थिए। रंगशाला निर्माणका लागि खटिएका मजदुरको पारिश्रमिकमा निकै कम पैसा खर्च गरेको फिफाले यसबाट ३ अर्ब पाउण्ड आम्दानी गर्ने बताइएको छ।
केनले टोटेनहम हटस्परबाट साताको दुई लाख पाउण्ड तलब लिने गर्छन्। यो हिसाबले कतारमा रंगशाला निर्माण गरेका मजदुरको दैनिक ज्यालादारी बराबरको पैसा केनले ३० सेकेण्डमै कमाउँथे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।