काठमाडौं– मधेस प्रदेशका ३२ प्रतिनिधि सभा क्षेत्र मध्ये १३ वटाको नतिजा सार्वजनिक भइसकेको छ। बाँकी १९ क्षेत्रमा मतगणना जारी छ।
सार्वजनिक भएका १३ क्षेत्रमध्ये नेपाली कांग्रेसले ४ सिट जित्दा एमालेले ३ सिट हात पारेको छ। यस्तै नेकपा एकीकृत समाजवादी र जसपाले दुई/दुई क्षेत्रमा जितेका छन्।
यस्तै लोकतान्त्रिक समाजवादी र जनमत पार्टीले एक/एक क्षेत्रमा जितेका छन्। यस्तै कांग्रेसले ४, एमाले ५, जसपा ५, स्वतन्त्र ३ र लोसपाले २ क्षेत्रमा अग्रता लिइरहेका छन्।
जारी मतगणनामा सिरहा–२, धनुषा २ र ४, महोत्तरीको ३ र सर्लाहीको २ नम्बर क्षेत्रमा कडा प्रतिस्पर्धा देखिन्छ। सिरहा २ मा जसपाका राजकिशोर यादव र जनमतका विनोद यादव एक अर्कालाई उछिन्ने र पछि पर्ने गरेका छन्।
यस्तै धनुषाको २ र ४ मा पनि कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ। लोसपा अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहेको महोत्तरी ३ र लोसपा वरिष्ठ नेता राजेन्द्र महतो उम्मेदवार रहेको सर्लाही २ मा पनि कडा प्रतिस्पर्धा छ।
स्वतन्त्र उम्मेदवारहरुले अग्रता लिइरहेको सर्लाही ४, रौतहट २ र ३ उनीहरुले नै जित्ने निश्चित देखिएको छ। यता सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार बनेका अमरेश सिंह, रौतहट २ मा किरण साह र रौतहट ३ मा प्रभु साह जित नजिक पुगेका छन्। यसैगरी सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरी पनि जित नजिक पुगेका छन्। धुनषा ३ मा भने एमालेकी जुली महतो जित नजिक देखिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।