काठमाडौं– मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय राजनीतिका दुई ‘हेबिवेट’ उम्मेदवारबीच प्रतिस्पर्धा भएको झापा- ३ लाई चासोपूर्वक हेरिएको थियो।
यो क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनबीच प्रतिस्पर्धा थियो। दुई नेताबीचको प्रतिस्पर्धा यो चौथोपटक हो। लिङ्देनले भने सिटौलासँग हिसाब बराबर गरेका छन्।
यसअघि २०५६ र २०७० मा भएका निर्वाचनमा लिङ्देनले उनै सिटौलासँग प्रतिस्पर्धा गरेका थिए। तर लिङ्देनले २०५६ को निर्वाचनमा तेस्रो स्थानको मत पाएका थिए भने २०७० को निर्वाचनमा दोस्रो स्थानको मत पाएका थिए।
यसपछिका २ निर्वाचनमा उनै सिटौलालाई पराजित गर्दै २०५६ र २०७० मा आफूले व्यहोरेको पराजयलाई बराबरी बनाएर उनै सिटौलालाई फर्काएका छन्।
करिब ३२७६ मतान्तरले विजयी लिङ्देनले ४० हजार ६४८ मत ल्याउँदा सिटौलाले ३७ हजार ३७२ मत मात्र प्राप्त गर्न सफल रहे। यसअघि २०७४ मा भएको निर्वाचनमा यही क्षेत्रबाट लिङ्देनले सिटौलालाई १३ हजार बढीको मतान्तरले पराजित गरेका थिए।
लिङ्देन राजनीतिक जीवन
५७ वर्षीय लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन्। २०७८ मंसिरमा सम्पन्न पार्टी महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि लिङ्देन उक्त पार्टीको महामन्त्री थिए।
२०४० तिरबाट पञ्चायत समर्थित विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका लिङ्देन २०४९ सालमा राप्रपाको विद्यार्थी संगठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष बनेका थिए।
२०४९ मा भएको स्थानीय निकायको निर्वाचनमा लिङ्देन तत्कालीन गोल्धाप गाविस- ३ को वडाध्यक्ष भएका थिए। तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा लिङ्देन जिल्ला विकास समिति झापाको सभापति बनेका थिए।
राजसंस्थाको विस्थापनसँगै स्थापना भएको गणतान्त्रिक व्यवस्था र त्यसपछि निर्माण भएको संविधानको निर्मातामध्येका एक सिटौला र यो व्यवस्थालाई पल्टाएर राजसंस्था स्थापनाको मुद्दा बोकेका लिङ्देनबीचको प्रतिस्पर्धामा जनताले लिङ्देनलाई जिताएपछि आसन्न राजनीतिक परिदृश्य थप रोचक हुनसक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।