काठमाडौं– प्रतिनिधि सभातर्फ १ मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा (एमाले)का राजेन्द्रकुमार राई निर्वाचित भएका छन्। राईले नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई पराजित गर्दै जित हासिल गरेका हुन्।
यस्तो छ मतपरिणामः
राजेन्द्रकुमार राई (एमाले)– ३० हजार १०१
सुनिलबहादुर थापा (कांग्रेस)– २८ हजार ७०४
को हुन् राजेन्द्रकुमार?
५६ वर्षीय राजेन्द्रकुमार एमालेका केन्द्रीय सदस्य हुन्। २०६६ देखि करिब ९ वर्ष जिल्ला कमिटीको नेतृत्व गरेका उनी २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। सो निर्वाचनमा उनले तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उम्मेदवार सुनिलकुमारलाई पराजित गरेका थिए।
एक हारको बदलामा दुई जित
यो निर्वाचनमा पनि राजेन्द्रकुमारले उनै सुनिलबहादुरलाई पराजित गर्दै निर्वाचित भएका छन्। त्यसो त उनीहरूबीचको प्रतिस्पर्धा २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनबाटै रहेको छ। तर पहिलो प्रतिस्पर्धामा भने सुनिलबहादुरले राजेन्द्रकुमारलाई पराजित गरेका थिए।
पहिलो प्रतिस्पर्धामा पराजय ब्योहोरे राजेन्द्रकुमारले त्यसयताका योसहित २ निर्वाचनमा निरन्तर सुनिलबहादुरलाई पराजित गर्न सफल भएका छन्। सुनिलबहादुरले भने आफ्नो मातृ पार्टी राप्रपा परित्याग गरेर कांग्रेसमा आउँदा पनि जित हासिल गर्न सकेनन्।
सुनिलबहादुर पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापाका छोरा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।