काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी भएको मान्न नसकिने बताएका छन्।
उनले निर्वाचित हुने प्रक्रियालाई परीक्षासँग तुलना गरेका छन्। चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भइसकेपछि सम्बोधन गर्दै उनले भने, ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिनका लागि सक्षम हुनु मात्र हो।’
उनले आजदेखि परीक्षा दिन लागेको र त्यसको नतिजा पाँच वर्षपछि आउने बताए। आफूले जनतालाई जिताउने परीक्षा दिन गइरहेकाले अहिले आफू विजय र्याली गर्न नचाहेको बताएका छने।
उनले विजय र्यालीको साटो आज ३ बजे भरतपुर–१० को गेष्टहाउस चौरमा, भोलि ११ बजे इच्छाकामना गाउँपालिकाको कार्यालय अगाडि रहेको फुटबल ग्राउन्ड र भोलि ३ बजे शहिद स्मृत क्याम्पस चौर पदमापुरमा धन्यवाद सभा गर्न लागेको बताए।
साथै उनले सभामा आउँदा आफ्ना लागि फूलमाला र अबिर नल्याउन अनुरोध गरेका छन्। ‘एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फूलमाला, अबिर, खादा केही पनि नल्याउनु होला। म आजबाटै काम थाल्दैछु।’
उनले सभा हुने ठाउँमा दुईवटा बाकसहरु राख्ने र त्यहाँ एउटा बाकसमा समस्या पेटिका तथा अर्को बाकसमा उजुरी, समस्या र सुझाव पेटिका लेखिएको हुने जानकारी दिए। ‘त्यसमा, भ्रस्टाचारीका सूचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर, खादामा हामीले गरेको खर्च प्राय: सबै विदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फूल भए मलाई पुग्छ’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।