काठमाडौं- निर्वाचनमा आफैंलाई पराजित गरेकी रेखा शर्मालाई शंकर पोखरेलले बधाई दिएका छन्। बिहीबार सम्पन्न मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार शर्मा विजयी भएकी थिइन्।
'मसँगको प्रतिस्पर्धामा विजयी हुनु भएकोमा रेखा शर्मालाई बधाई', पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, 'गठबन्धनसँगको एक्लो प्रतिस्पर्धामा मतदाता र शुभेच्छुकहरुले देखाउनु भएको सद्भावका लागि सदैव आभारी रहने छु।'
दाङ- २ मा शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी हुँदा पोखरेलले २६ हजार ६८१ मत मात्रै ल्याएका थिए।
को हुन् शर्मा?
५३ वर्षीय शर्माले २०४२ देखि अनेरास्ववियुको स्कुल इकाइ कमिटीबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी हुन्। योङ कम्युनिस्ट लिगको केन्द्रीय सदस्य, अनेमसंघ क्रान्तिकारीको अध्यक्ष, तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य हुँदै उनी अहिले माओवादी केन्द्रको स्थायी कमिटी सदस्य छिन्।
माओवादी जनयुद्धको क्रममा उनी एक वर्ष सैनिक हिरासतमा समेत बसेकी थिइन्। २०७२ मा गठित केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा उनी सामान्य प्रशासन मन्त्री बनेकी थिइन्। उनी आफ्नो पार्टीका तर्फबाट सचेतक तथा प्रमुख सचेतक समेत बनिसकेकी छिन्।
शर्मा २०७० को संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद्/सांसद निर्वाचित भएकी थिइन्। संसदीय समितिमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने सांसदको रुपमा उनी परिचित छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।