काठमाडौं– एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा नेकपा एमालेका मानबीर राई निर्वाचित भएका छन्।
उनले सत्तागठबन्धनका साझा उम्मेदवार बनेका कांग्रेसका बल बहादुर केसीलाई पराजित गरेका छन्। राईले १९ हजार ३२४ मत प्राप्त गर्दा पराजित भएका केसीले १६ हजार ५४५ मत प्राप्त गरेका छन्।
को हुन् राई?
५१ वर्षीय राई नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। पार्टी राजनीतिको तल्लो कमिटीबाट राजनीतिमा प्रवेश गरेका राई २०७८ मंसिरमा एमालेको केन्द्रीय समिति सदस्यमा मनोनित भएका थिए।
राईले २०४८ पछि भएका सबै निर्वाचनमा प्रतिस्पर्धा गरेका केसीलाई संसदीय यात्रामा पुनरागमन गर्नबाट रोकेका छन्। केसीले २०४८, ०५१, ०५६ र ७० मा सोलुखुम्बुबाटै प्रतिनिधि सभामा जितेका थिए।
कांग्रेसका केसी यो बीचको २०६४ र २०७४को निर्वाचनमा पनि पराजय व्यहोरेका थिए। उनी यो पटक जित निकालेर संसद्मा फर्किन चाहन्थे। तर राईले उनको उक्त सपना असफल बनाइदिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।